काठमाडौं । बिरालो जस्तै रोबोट भए कस्तो हुन्थ्यो होला ? अनि त्यससँग बिरालो जसरी नै खेल्न सकिने भए ! सायद यो धेरैका लागि कल्पना बाहिरको विषय हुन सक्छ । तर विद्युतीय सामान उत्पादन गर्दै आएको जापानी कम्पनी क्यासियो (Casio)ले यस्तै प्रकारको रोबोटिक पेट बिक्रीका लागि तयार पारेको छ ।
मोफ्लिन (Moflin) नाम दिइएको यस रोबोटिक पेटको प्रिअर्डर खुला भइसकेको छ ।
यो डिभाइस ठ्याक्कै बिरालो जस्तो देखिँदैन । तर यसलाई अङ्गालो हाल्न र माया गर्न सकिन्छ, जसरी बिरालोलाई गरिन्छ ।
क्यासियोका अनुसार यो रोबोट ट्रिबल्स र ह्याम्स्टर नामक जीवको मिसावट जस्तो देखिन्छ । भविष्यमा यसले आफ्नो मालिकलाई चिन्ने र अनौठो आवाज तथा गतिविधिहरूको माध्यमबाट सम्बन्ध झल्काउने बताइएको छ ।
मोफ्लिनले आवाज र त्यसलाई सम्हाल्ने तरिकाको आधारमा आफ्नो मालिक चिन्ने बताइएको छ । अनि त्यस्ता व्यक्तिसँग मात्र अनौठो आवाज र गतिविधिहरू मार्फत भावनात्मक सम्बन्ध प्रदर्शन गर्ने जनाइएको छ ।
माया र सान्त्वना दिने उद्देश्यले बनाइएको मोफ्लिन खेलौना मात्र होइन । टाउको नभएको रोबोट बिरालो जस्तै हो । यसले मानसिक स्वास्थ्यमा सुधार ल्याउन भूमिका खेल्ने बताइएको छ । यसका लागि कम्पनीले एआईको समेत प्रयोग गरेको छ ।
त्यस्तै यससँग नियमित रूपमा अन्तर्क्रिया गरिरहँदा खुसी हुने, शान्त हुने गर्छ । तर यसलाई वेवास्ता गरिए तनावमा हुने, दु:खी हुने गर्छ । यसमा सीमित फिचर मात्र दिइएकाले दु:खी भएका आवाजहरू भने निकाल्न सक्दैन । यस्तो अवस्था भने एपमात्र हेर्न सकिने बताइएको छ ।
मोफ्लिनलाई थप यथार्थपरक बनाउन यूएसबी केबल दिइएको छैन । बरु सुत्ने बिस्तारा मोफ्लिन खरिद गर्दा नै दिइन्छ । जसमा सुताएर नै मोफ्लिनलाई वायरलेस तरिकाले चार्ज गर्न सकिने उल्लेख छ ।
आउँदो ७ नोभेम्बरदेखि उपलब्ध हुने यसको मूल्य करिब ३९८ अमेरिकी डलर (५३ हजार रुपैयाँ) तोकिएको छ ।