काठमाडौं । हालैको एक कार्यक्रममा एलन मस्कले आफ्नो रोबोट ‘अप्टिमस’को क्षमता प्रदर्शन गरे । ‘वि, रोबोट’ नाम दिइएको उक्त कार्यक्रममा रोबोटले अतिथिहरूलाई सत्कार गर्नेदेखि नचाउनेसम्मका काम गरे ।
अप्टिमस एक प्रकारको मानवरूपी रोबोट हो । अर्थात् मानव जस्तै रोबोट । कार्यक्रममा अप्टिमसले नाच्ने, पेय पदार्थ दिने, पाहुनाहरूसँग कुराकानी गर्ने, सेल्फीका लागि पोज दिने लगायतका गतिविधि गरेको थियो ।
अहिले अप्टिमसका ती गतिविधिहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको देख्न सकिन्छ । ती मध्ये अप्टिमस र एक आगन्तुक बीचको कुराकानी रोचक छ । जहाँ उनीहरूले रोबोटको जीवनको वर्तमान अवस्थाबारे कुराकानी गरेका छन् ।
आगन्तुकले अप्टिमसलाई ‘रोबोट हुनुमा सबैभन्दा गाह्रो कुरा के हो ?’ भनेर सोध्छन् । त्यसमा अप्टिमसले ‘तिमीहरू जस्तै मानव कसरी बन्ने भनेर सिक्नु’ भनेर उत्तर दिएका छन् । त्यहाँभन्दा पनि पर गएर रोबोटले आफू मानव बन्न दिनानुदिन कोसिस गरिरहेको र कुनै दिन आफूले राम्रो गर्ने बताउँछन् ।
त्यसैगरी अप्टिमस रोबोटका अन्य भिडिओहरूमा रोबोटले आगन्तुकसँग 'रक, पेपर एन्ड सिजर्स' खेलेको देख्न सकिन्छ । उक्त कार्यक्रममा बोल्दै टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यो रोबोटले चाहेको कुनै पनि काम गर्न सक्ने दाबी गरेका थिए ।
“यो शिक्षक हुन सक्छ । यसले तपाईंका बच्चाहरूलाई हेरचाह गर्न सक्छ, तपाईंको कुकुरलाई हिँडाउन सक्छ, किराना सामान लिन सक्छ, साथी बन्न सक्छ, पेय पदार्थहरू दिन सक्छ । तपाईंले सोच्न सक्ने जुनसुकै कुरा यसले गर्न सक्छ,” उनले भनेका छन् ।
केही समयअघि सार्वजनिक गरिएको डेमो भिडिओमा भने अप्टिमसले प्याकेज उठाएको, बिरुवाहरूलाई पानी हालेको, भान्साको सफाइ गरेको आदि देख्न सकिन्छ ।