काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखिएको धम्कीपूर्ण सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको छ ।
मङ्गलबार दिउँसो साढे ४ बजे अवतरण गरेको उक्त जहाजमा रहेका १५७ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरहरूले चेकजाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उक्त धम्कीयुक्त सूचना भारतीय नम्बरबाट ह्वाट्सएपमा आएको बताइएको छ । यद्यपि, अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको सूचना अधिकारी भुलले बताए ।
पछिल्लो समय भारतमा यस्ता धम्कीपूर्ण सूचना पटकपटक आएको देखिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार हालै भारतमा १०० भन्दा बढी उडानहरूमा बमको धम्की दिइएको छ, जसका कारण धेरै उडानहरू प्रभावित भएका छन् । यसै क्रममा दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको यो फ्लाइटमा पनि बमको सूचना आएको हो ।
उक्त धम्कीपछि भिस्तारा एयरको जहाजलाई छुट्टै राखेर कडा सुरक्षा जाँच गरिएको भुलले जनाए । उनका अनुसार यात्रुहरूलाई बाहिर निकालेर ह्यान्डक्यारी र सामानहरूलाई पनि जाँच गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू भने सामान्य रूपमा सञ्चालन भइरहेका छन् ।