काठमाडौं । भारतीय बजार केही दिनदेखि जिओ सिनेमा र डिज्नी हटस्टार गाभिने विषयले तातिएको छ । ग्राहकको मामलामा यी दुई भारतका ठूला ओटीटी प्लेटफर्म हुन् । चर्चित ओटीटी प्लेटफर्म गाभिँदा भारतमा उनीहरूको एकाधिकार कायम हुने विश्लेषण गरिएको छ ।
यी दुई प्लेटफर्म कसरी गाभिन्छन् भन्ने विषय बाहिर आइसकेको छैन । तर, विभिन्न रिपोर्टले जिओ सिनेमा र डिज्नी हटस्टार गाभिएर 'जिओ हटस्टार' बन्ने दाबी गरेका छन् । यसैबीच एक एप डेभलपरले ‘जिओ हटस्टार डटकम’ डोमेन एक करोड भारु (एक करोड ६० लाख नेपाली रुपैयाँ) मा राखेको विषय बाहिरिएको छ ।
उक्त डोमेनको वेबपेजमा ती युवकले ब्यानर राखेका थिए । “म दिल्लीमा बस्ने एक एप डेभलपर हुँ । म अहिले आफ्नै स्टार्टअपमा काम गरिरहेको छु,” वेबपेजको ब्यानरमा लेखिएको थियो, “सन् २०२३ मा सोसल मिडिया स्क्रोल गर्दा मैले डिज्नी प्लस हटस्टारले सक्रिय प्रयोगकर्ता गुमाइरहेको सूचना देखें । खासगरी आईपीएलको स्ट्रिमिङ लाइसेन्स गुमेपछि यस प्लेटफर्मका प्रयोगकर्ता घटेका थिए । त्यही बेला डिज्नी आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीसँग गाभिने विषय चर्चमा थियो ।”
त्यही समयमा उनले डिज्नीसँग रिलायन्सको भियाकम गाभिन सक्ने विश्लेषण गरे । यसबाट उनलाई डिज्नी प्लस हटस्टार रिलायन्सले नै खरिद गर्छ भन्ने लाग्यो । त्यसअघि जिओले म्युजिक स्ट्रिमिङ प्लेटफर्म साभन (Saavn) को स्वामित्व खरिद गर्दा नयाँ कम्पनीको नाम 'जिओ साभन' (JioSaavn) राखेको थियो । त्यसपछि उनले यदि जिओले डिज्नी प्लस हटस्टार खरिद गर्यो भने कम्पनीले डोमेन नेम 'जिओ हटस्टार' राख्छ भन्ने कल्पना गरे । र, ‘जिओ हटस्टार डटकम’ नामको डोमेन खरिद गरे ।
युवकले उक्त ब्यानरमा रिलायन्सले आफ्नो क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने सपना पूरा गरिदिए डोमेन उपलब्ध गराउने उल्लेख गरेका थिए । ती युवक केही वर्षअघि क्याम्ब्रिज विश्वविद्यालयको एक शैक्षिक कार्यक्रमका लागि छनोट भएका थिए । तर, पैसा नहुँदा जान पाएनन् । त्यहीबेला डोमेन नेम खरिद गर्ने यस्तो जुक्ति आएको उनले सो ब्यानरमा लेखेका थिए ।
“क्याम्ब्रिजले उद्यमशीलताको पूर्ण डिग्री कार्यक्रम पनि प्रदान गर्छ । यो मैले सधैं पढ्न चाहेको थिएँ । तर आर्थिक रूपमा कहिल्यै सम्भव भएन,” ब्यानरमा भनिएको थियो, “आखिर यो क्याम्ब्रिज हो, जो निकै महँगो पर्छ । जब मैले यो डोमेन उपलब्ध भएको देखेँ, तब लाग्यो कि सायद सबै कुरा मिल्नेछ । यो डोमेन किन्नुको मेरो उद्देश्य सरल थियो, यदि यो मर्जर भयो भने सायद म क्याम्ब्रिजमा अध्ययन गर्ने मेरो सपना पूरा गर्न सक्छु ।”
ती युवकले रिलायन्स कम्पनी र भियाकमका प्रतिनिधिलाई आधिकारिक पत्र ल्याएर डोमेन खरिद गर्न अनुरोध गरेका थिए । “बहुअर्ब डलर कम्पनीका लागि यो सानो खर्च हो । तर, मेरा लागि यो डोमेन बिक्री हुनु भनेको जीवन परिवर्तन हुनु हो,” मेसेजमा भनिएको थियो ।
त्यसलगत्तै ती युवकले उक्त वेबपेजमा रिलायन्सले आफूविरुद्ध कानुनी प्रक्रियामा जान लागेको उल्लेख गरेका थिए । ती युवकका अनुसार कम्पनीका प्रतिनिधिले उनको प्रस्ताव सोझै अस्वीकार गरेका थिए । उनले आफूले प्रतिलिपि अधिकार उलङ्घन नगरेको दाबी गर्दै कानुनी सहायता समेत मागेका थिए ।
“जुन बेला जिओ हटस्टार अस्तित्वमै थिएन, त्यो बेला मैले यो डोमेन खरिद गरेको थिएँ । यसको ट्रेडमार्क कसैसँग थिएन । यदि कानुनी प्रक्रियामा गयो भने म केही घण्टामै यो डोमेन गुमाउनेछु । त्यसैले मलाई कानुनी सहायता दिनुहोला,” उनले लेखेका थिए ।
तर, २५ अक्टोबर (शुक्रबार) उक्त डोमेनमा यूएईका दुई बालबालिकाको भिडिओ राखिएको छ ।
“सेवाको यात्रामा स्वागत छ,” वेबपेजको शीर्षकमा लेखिएको छ । भिडिओमा भनिएको छ, “नमस्ते ! हामी जैनम र जीविका हौं । हामी दुबई, यूएईका दाजुबहिनी हौं । केही फरक गर्नका लागि अभियान चलाइरहेका छौं । हामी सानै भएपनि दया र सकारात्मकता फैलाउन उमेरमात्र एउटा अंक हो भन्ने विश्वास गर्छौं । यतिबेला हाम्रो गर्मी बिदाको सुरुवात भारतबाट गरेका थियौं । त्यहाँ हामीले ५० अविस्मरणीय दिनहरू बितायौं । विभिन्न पृष्ठभूमिका बालबालिकासँग कनेक्सन बनाउने, शिक्षाप्रतिको हाम्रो माया बाँड्ने, अध्ययन गर्ने र लक्ष्य निर्धारण गर्ने सीपहरू सिकाउने तथा उनीहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने हाम्रो मुख्य उद्देश्य थियो ।”
यो डोमेन ती दुई दिदीभाइले खरिद गरेका हुन् वा ती डेभलपर युवकले कम्पनीलाई डोमेन बिक्री गरेको देखाउन यो साइट होस्ट गरेका हुन् भनेर हालसम्म खुलिसकेको छैन ।