close

गुगलको नयाँ एआई ‘जार्भिस’, अब वेब ब्राउजरले आफैं गरिदिनेछ तपाईँका दैनिक काम !

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ ९:५९

गुगलको नयाँ एआई ‘जार्भिस’, अब वेब ब्राउजरले आफैं गरिदिनेछ तपाईँका दैनिक काम !

काठमाडौं । कम्प्युटरका काम आफैं गरिरहँदा हैरान हुनुहुन्छ ? अब तपाईँको ब्राउजरलाई आफैं चल्न दिने समय आएको छ ! गुगलले 'जार्भिस' नामक यस्तो एआई टुल ल्याउँदैछ, जसले कम्प्युटरको स्क्रिन हेर्ने बित्तिकै तपाईँको आशय सजिलै पत्ता लगाउँछ र बटन थिच्नेदेखि टाइपिङ गर्नेसम्मका सबै काम आफैं गरिदिन्छ ।

द इन्फर्मेसनका अनुसार गुगलको यो नयाँ एआई टुल आउँदो डिसेम्बरसम्म सार्वजनिक हुनेछ । ​हालै मात्र गुगलले जेमिनाई लाइभमा नयाँ भाषा थप्नुका साथै मिट, फोटोज् जस्ता एपमा पनि एकीकृत गरेको थियो ।

खासमा 'जार्भिस' क्रोमजस्ता वेब ब्राउजरहरूमा तपाईँको सहायक बन्नेछ । यसबाट रिसर्च, शपिङ, फ्लाइट बुकिङजस्ता धेरै कामहरू सजिलै गर्न सकिने बताइएको छ ।

'जार्भिस' ले एउटा स्क्रिनशट लिएर मात्रै के काम गर्नु छ भनेर ठम्याउँछ, अनि तपाईँ आरामले बस्दा पनि सबै काम आफैं हुन्छ । ​गुगलको यो टुल यति स्मार्ट छ कि, अब तपाईँले स-साना कुरामा पनि हात चलाउनु पर्दैन । हरेक पटक कम्प्युटरमा क्लिक गर्नुपर्छ भनेर झन्झट मान्नेहरूका लागि यो टुल वरदान सावित हुने बताइएको छ । 

हालै मात्र एन्थ्रोपिक नामक एआई स्टार्टअपले आफ्नो क्लाउड एआईमा जार्भिसको भन्दा पनि बढी क्षमता भएको फिचर सार्वजनिक गरेको छ । यसले वास्तविक व्यक्तिले जस्तै विभिन्न कम्प्युटर प्रोग्रामहरू आफैं प्रयोग गर्नसक्ने बताइएको छ । हाल यो टुल बेटा भर्सनमा उपलब्ध छ । बजारमा चलिरहेको यस्तो प्रतिस्पर्धाले गर्दा पनि गुगल चाँडै नै जार्भिस ल्याउने तयारीमा जुटेको हो ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ १०:९