भोलि हुने साफ च्याम्पियनशिपको फाइनलमा अनलाइन टिकट नहुने, खरिद गरिसकेकाले रकम फिर्ता पाउने
कात्तिक १३, २०८१ १६:६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनशिपको फाइनल खेलमा भौतिक टिकटमात्रै बिक्री गर्ने भएको छ । बुधबार दशरथ रङ्गशालामा हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलका लागि एन्फाले अनलाइन टिकटको सुविधा नदिने भएको हो ।
नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले टिकेटिङ पार्टनर माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्ससँगको सम्झाैता रद्द गरेको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले अब आफै भौतिक रूपमा टिकट बिक्री गर्ने जानकारी दियो ।
टिकट बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा मुख्यालय र भद्रकाली आर्मी हेडक्वाटरको गेटबाट बिक्री गरिने छ ।
भौतिक रूपमा पनि १२ हजार टिकट मात्र बिक्री हुने जनाइएको छ । यसअन्तर्गत साधारणतर्फ ५०० र भीआईपी प्याराफिटतर्फ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
यसअघि डिजिटल वालेट खल्तीमार्फत टिकट खरिद गरिसकेका व्यक्तिले रकम फिर्ता पाउने छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ १८:२४
