close

‘बेहुली फ्रम मेघौली’ ले ओटीटी एपबाट कमायो पाँच दिनमै ६८ लाख रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ १८:५

‘बेहुली फ्रम मेघौली’ ले ओटीटी एपबाट कमायो पाँच दिनमै ६८ लाख रुपैयाँ

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा हालसम्म १७ हजारभन्दा बढी पटक स्ट्रिम भएको छ । गत शुक्रबारदेखि ‘एमएसएम भिडिओ’ एपमा रिलिज भएको यस चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । 

चलचित्रका निर्माता एवं कलाकार निश्चल बस्नेले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र ११ हजारभन्दा बढी पटकसम्म स्ट्रिम भएको जानकारी दिएका थिए । बुधबार दिउँसोसम्म ‘बेहुली फ्रम मेघौली’ लाई १७ हजार बढीले हेरेको बस्नेतको अनुमान छ । यसलाई प्रति स्ट्रिम औसत ४०० रुपैयाँले हिसाब गर्‍यो भने ६८ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । 

“हरेक साता रिपोर्ट आउने भएकाले अहिले ठ्याक्कै कति छ भन्न सकिएन । सम्भवतः औसतमा १७ हजार बढी हुनुपर्छ,” बस्नेतले टेकपानासँग भने । 

हलमा चलिरहेको नेपाली चलचित्र उतारेर ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको रेकर्ड नेपालमा छैन । महिनौंपछि केही चलचित्र ओटीटीमा आएका छन् । बस्नेतले भने आँट गरेर नयाँ प्लेटफर्ममार्फत आफ्नो चलचित्र घरघरमा पुर्‍याउने घोषणा गरेका थिए ।

“मैले आफूलाई घाटा नहोस् भनी बिजनेसका लागि यो चलचित्र​ ओटीटीमा ल्याएको हुँ,” उनले अगाडि भने, “ओटीटीमा सोझै चलचित्र ल्याइहाल्ने प्रवृत्ति थिएन । अन्तिममा मात्र ल्याउने गरिएको थियो । मैले आफ्नै चलचित्र परीक्षण गर्न ओटीटीमा ल्याएँ ।”

हलमा लागिरहेको चलचित्र ओटीटीमा ल्याउनुले नेपाली चलचित्रलाई आम्दानीको अर्को विकल्प उजागर गरेको उनको तर्क छ । हलमा चलिरहेको चलचित्रको प्रचार विभिन्न किसिमले भहरहेको हुन्छ । त्यही समयमा केही दर्शक हलमै गएर चलचित्र हेर्न नसक्ने अवस्थामा हुन्छन् । त्यसैले प्रचार भइरहेको अवस्थामा चलचित्र ओटीटीमा आउँदा दर्शक आकर्षित भएको उनले सुनाए । 

एमएसडब्लू भिडिओ सार्वजनिक भएको करिब एक महिनामात्रै भएको छ । यो प्लेटफर्म परीक्षणकै चरणमा थियो । उता ‘बेहुली फ्रम मेघौली’ ले राम्रो अकुपेन्सी पाउँदा पनि पर्याप्त शो नपाएपछि बस्नेतले हलमा चलचित्र नचलाउने उद्घोष गरे ।

चलचित्रले पाएको त्यही चर्चालाई व्यवसायमा परिणत गर्न बस्नेतले हतार गरेर ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मा ल्याउने घोषणा गरेका थिए । त्यसपछि एप डाउनलोड गर्नेहरू बढे । तर, एपमा ओटीपी कोड नजाने समस्या देखियो । उक्त समस्या समाधान भएपछि बस्नेतले ‘बेहुली फ्रम मेघौली’ ओटीटी एपमा ल्याए । 

अहिले पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताले भिडिओ राख्दै चलचित्र मोबाइलबाट स्क्रिन मिररिङ गरेर टिभीमा हेर्न खोज्दा सपोर्ट नगरेको गुनासो गरेका छन् । बस्नेतका अनुसार चलचित्रका क्लिप सामाजिक सञ्जालमा नआऊन् भन्ने उद्देश्यले यस्तो गरिएको हो । क्रोमकास्ट लगायतका विकल्पमा भने सपोर्ट गर्ने टिभीमा फोनबाट सोझै टिभीमा चलचित्र हेर्न सकिन्छ । 

‘एमएसएम भिडिओ’ एप एन्ड्रोइडमा एक लाख ७० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ । त्यसैगरी ८० हजार बढी प्रयोगकर्ताले साइनअप गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १८:२६