close

एलन मस्कको एक्सभन्दा मूल्यवान् कम्पनी बन्यो ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ १३:२९

एलन मस्कको एक्सभन्दा मूल्यवान् कम्पनी बन्यो ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ट्रुथ सोसल एलन मस्कको एक्सभन्दा मूल्यवान् कम्पनी बनेको छ । शेयरमा पछिल्लो पटक उक्त सामाजिक सञ्जालको माउ कम्पनीको शेयरमा आएको उछालका कारण ट्रुथ सोसल मूल्यवान् बन्न पुगेको हो ।

सेप्टेम्बर यता ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको शेयरको मूल्य चार गुणाले वृद्धि हुँदा कम्पनीको मूल्य १० अर्ब अमेरिकी डलर पुगेको छ । यता ट्वीटरको रूपमा चिनिने कम्पनीमा लगानीकर्ता समूहले आफ्नो शेयर हिस्साका लागि तोकेको मूल्यका आधारमा एक्स होल्डिङको मूल्य करिब ९.४ अर्ब डलर छ ।

ट्रम्प मिडिया वा टीएमटीजीको शेयर मूल्य कम्पनी स्वयंले आर्जन गर्ने लाभको सम्भावनाको आधारमा नभई आगामी राष्ट्रपतिको रूपमा ट्रम्प पुनर्निर्वाचित हुने सम्भावनासँग बढी सम्बन्धित छ । अमेरिकी लगानीकर्ताहरूले पछिल्लो समय उनी राष्ट्रपति बन्ने सम्भावना बढेको देखेका छन् ।

मङ्गलबार मात्रै कम्पनीको शेयर करिब ९ प्रतिशतले बढेर ५१.५१ डलरमा बन्द भएको थियो, जुन सोमबारको २१.६ प्रतिशत वृद्धि पछिको आँकडा हो । यो शेयर तीव्र रूपमा उकालो लागिरहेका कारण बिहानको समयमा कारोबारलाई धेरै पटक रोक्नुपरेको थियो । जब कि गत महिना यो शेयरको मूल्य करिब १२ डलरमा झरेको थियो ।

सन् २०२१ को जनवरी ६ को क्यापिटोल दङ्गापछि तत्कालीन ट्वीटर र फेसबुकले आफूमाथि प्रतिबन्ध लगाएपछि ट्रम्पले टीएमटीजी स्थापना गरेका हुन् । कम्पनीमा उनको करिब ५७ प्रतिशत स्वामित्व छ, तर यसको सञ्चालनमा उनको कुनै भूमिका भने छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १३:५८