close

मङ्गल ग्रहमै मर्ने एलन मस्कको चाहना, एआई भविष्यबारे के बोले ?

टेकपाना टेकपाना

माघ १०, २०८२ १४:३८

मङ्गल ग्रहमै मर्ने एलन मस्कको चाहना, एआई भविष्यबारे के बोले ?

काठमाडौँ । लगानीकर्ता कम्पनी ‘ब्ल्याकरक’का प्रमुख ल्यारी फिङ्क र अर्बपति उद्यमी एलन मस्कबिच विश्व आर्थिक मञ्चको ५६औं वार्षिक बैठकमा संवाद भएको छ । उक्त संवादमा मस्कले आगामी पाँच वर्षभित्रै मानव इतिहास पूर्ण रूपमा बदलिने दाबी गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र अन्तरिक्ष यात्राबारे आफ्ना महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेका छन् ।

मस्कका अनुसार अबको केही वर्षमै एआईले मानव जातिलाई बुद्धिमत्तामा पछि पार्नेछ भने अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने डेटा सेन्टरहरू स्थापना हुनेछन् ।  

‘अन्धकारमा मैनबत्तीजस्तै छ मानव चेतना’

संवादका क्रममा मस्कले आफ्ना कम्पनीको मूल उद्देश्य नाफा कमाउनु मात्र नभई ‘मानव चेतनाको रक्षा गर्नु’ रहेको बताए । उनले मानवीय चेतनालाई विशाल ब्रह्माण्डीय अन्धकारमा बलिरहेको एक ‘सानो मैनबत्ती’सँग तुलना गरे । यो जुनसुकै बेला बेला निभ्न सक्ने उनको भनाइ छ ।

“हामीलाई ब्रह्माण्डमा अन्त कतै जीवन भएको थाहा छैन । त्यसैले पृथ्वीमा आउन सक्ने प्राकृतिक वा मानव-सिर्जित सङ्कटबाट बच्न मानव जातिलाई ‘बहु-ग्रहीय’ बनाउनु र मंगल ग्रहमा बस्ती बसाल्नु अनिवार्य छ,” मस्कले स्पेस-एक्सको उद्देश्य प्रष्ट पार्दै भने ।

एआईको विकासको गतिबारे फिङ्कको जिज्ञासामा मस्कले चकित पार्ने भविष्यवाणी गरे । उनले भने, “यसै वर्षको अन्त्यसम्म वा ढिलोमा अर्को वर्षसम्म एआई कुनै पनि एकल मानिसभन्दा बढी बुद्धिमान हुनेछ । र, सन् २०३० सम्ममा यसले समग्र मानव जातिको सामूहिक बुद्धिमत्तालाई समेत उछन्नेछ ।” 

मस्कले एआई र रोबोटिक्सको संयोजनले विश्वव्यापी गरिबी अन्त्य गरी ‘प्रचुरताको युग’ ल्याउने दाबी गरे । तर, उनले सावधानी नअपनाए हलिउड फिल्म ‘टर्मिनेटर’को जस्तो जोखिम आउन सक्ने चेतावनी पनि दिए ।

मस्कले टेस्लाको ‘अप्टिमस’ रोबोट यसै वर्षदेखि औद्योगिक क्षेत्रमा जटिल काम गर्न तयार हुने र आगामी वर्षको अन्त्यसम्ममा सर्वसाधारणका लागि बिक्री सुरु हुने जानकारी दिए । “भविष्यमा मानिसभन्दा रोबोटको संख्या धेरै हुनेछ । घरको काम गर्नेदेखि वृद्धवृद्धाको हेरचाह गर्नेसम्मका लागि सबैले एउटा रोबोट चाहनेछन्,” उनले भने । साथै, टेस्लाको ‘सेल्फ-ड्राइभिङ’ प्रविधि यति सुरक्षित भइसकेको छ कि बीमा कम्पनीले यसका प्रयोगकर्तालाई आधा सस्तो प्रिमियम अफर गरिरहेका छन् । उनले यसै वर्ष अमेरिकाभर ‘रोबोट ट्याक्सी’ सेवा व्यापक हुने समेत बताए ।

अन्तरिक्षमा सौर्य ऊर्जा र एआई डेटा सेन्टर

एआई चिप्स उत्पादनमा तीव्रता आए पनि बिजुलीको अभाव मुख्य चुनौती रहेको मस्कको ठम्याइ छ । यो समस्या समाधान गर्न उनले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डेटा सेन्टरहरू बनाउने योजना अघि सारे । “अन्तरिक्षमा बादल र रात नहुने हुनाले सौर्य ऊर्जा पृथ्वीमा भन्दा पाँच गुणा बढी प्रभावकारी हुन्छ । अबको दुई-तीन वर्षभित्रै अन्तरिक्ष नै एआईका लागि सबैभन्दा सस्तो र शीतल स्थान बन्नेछ,” उनले भने । मस्कले १०० माइल वर्गाकार क्षेत्रफलको सौर्य फर्मले पूरै अमेरिकालाई पुग्ने बिजुली उत्पादन गर्न सकिने तथ्य समेत पेश गरे ।

‘मर्न त मङ्गल ग्रहमा चाहन्छु, तर दुर्घटनामा परेर होइन’

अन्तरिक्ष यात्राको खर्चलाई १०० गुणाले घटाउन ‘स्टारशिप’ रकेटलाई पूर्ण रूपमा पुन: प्रयोगयोग्य बनाउने अभियानमा आफू सफल हुन लागेको मस्कले बताए । संवादको अन्त्यमा फिङ्कले मस्कलाई उनको व्यक्तिगत इच्छाबारे सोधेका थिए । जसमा मस्कले रमाइलो शैलीमा जवाफ दिए, “म मङ्गल ग्रहमा मर्न त चाहन्छु, तर अवतरणको क्रममा ठोक्किएर होइन ।” उनले विश्वभरका मानिसलाई निराशावादी भएर सही हुनुभन्दा आशावादी भएर गलत हुनु जीवनको गुणस्तरका लागि राम्रो हुने भन्दै सधैं उत्साहित रहन प्रेरित गरे ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १४:३८