close

४० करोड पुरस्कार राशिको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप आजदेखि, दुई नेपाली टिम खेल्दै

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ १५:१६

४० करोड पुरस्कार राशिको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप आजदेखि, दुई नेपाली टिम खेल्दै

काठमाडौं । करिब ४० करोड ४५ लाख रुपैयाँ पुरस्कार राशि भएको पब्जी प्रतियोगिता 'पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)' मा दुई नेपाली टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्स खेल्दैछन् । आजदेखि सुरु हुने यो प्रतियोगितामा ४९ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

डिसेम्बर ८ सम्म चल्ने पीएमजीसीमा ग्रुप स्टेज, सर्भाइबल स्टेज, लास्ट चान्स र फाइनल स्टेजका खेल हुनेछन् । लिग स्टेजका खेलहरू क्वालालम्पुर, मलेसियामा हुनेछ भने फाइनल खेल लण्डनमा हुनेछ ।

ग्रुप स्टेज

ग्रुप स्टेज प्रतियोगिताको पहिलो चरण हो, जहाँ कुल ४८ टिमले खेल्नेछन् । ग्रुप स्टेजमा तीन समूहमा १६-१६ टिमलाई बाँडिएको छ । नेपाली टिम होरा ई-स्पोर्ट्स यलो ग्रुपमा रहेको छ भने डीआरएस गेमिङ ग्रिन ग्रुपमा छ ।

३१ अक्टोबरदेखि ३ नोभेम्बरसम्म यलो ग्रुपको ग्रुप स्टेजको खेल हुनेछ भने रेड ग्रुपको नोभेम्बर ७ देखि १० सम्म हुनेछ । त्यस्तै, डीआरएस गेमिङ रहेको ग्रिन ग्रुपको खेल १४ नोभेम्बर देखि १७ नोभेम्बरसम्म हुनेछ ।

हरेक ग्रुपले ग्रुप स्टेजमा कुल २४ खेल खेल्नेछन् । शीर्ष तीन स्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउनेछन् भने चौंथोदेखि ११ औं स्थानसम्मका टिमले सर्भाइबल स्टेजमा जानेछन् र अंक तालिकाको पुच्छरमा रहेका पाँच टिम प्रतियोगिताबाट बाहिरिने छन् । 

सर्भाइबल स्टेज

यो प्रतियोगिताको दोस्रो चरण हो, जहाँ ग्रुप स्टेजमा राम्रो प्रदर्शन गरेका टिमहरूबीच प्रतिस्पर्धा हुनेछ । यसमा हरेक समूहबाट आठ-आठ टिम गरेर कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो स्टेजमा हरेक टिमले दिनको ६ खेल गरी तीन दिनमा कुल १८ खेल खेल्न पाउनेछन् । अंक तालिकामा शीर्ष १६ भित्र अटाउने टिमले लास्ट चान्स चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी आठ टिम प्रतियोगिताबाट बाहिरिने छन् । सर्भाइबल स्टेजका खेलहरू नोभेम्बर २० देखि २२ सम्म चल्नेछन् ।

लास्ट चान्स

यो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अन्तिम अवसर हो । यसमा सर्भाइबल स्टेजबाट आएका १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

दिनमा ६ खेल गरी दुई दिनमा १२ खेल खेलाइनेछ । १२ खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ भित्र अटाउने टिमले फाइनलमा स्थान बनाउनेछन् भने बाँकी टिम प्रतियोगिताबाट बाहिरिने छन् । लास्ट चान्सका खेलहरू नोभेम्बर २३ र २४ मा हुनेछ ।

फाइनल

फाइनलमा कुल १६ टिमले पीएमजीसी २०२४ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ग्रुप स्टेजबाट आएका नौ टिम, लास्ट चान्सबाट आएका ६ टिम र आयोजकको क्षेत्रको एक टिम खेल्नेछन्, जसमा गिल्ड ई-स्पोर्ट्सले खेल्ने पक्का भएको छ ।

खेल दिउँसो ४ बजे पब्जी मोबाइल ई-स्पोर्ट्सको फेसबुक पेज तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १५:३१