close

तपाईंको आईफोन सक्कली हो कि नक्कली ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १०:२९

तपाईंको आईफोन सक्कली हो कि नक्कली ? यसरी चेक गर्नुहोस्

 

काठमाडौं । संसारमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्ड मध्ये एक हो, आईफोन । क्यामेरा राम्रो हुनु, पर्फमेन्स राम्रो हुनु, बिल्ट क्वालिटी राम्रो हुनु लगायत यसका अनेकन् विशेषता छन् ।

तर, कतिपयले यही कुराको फाइदा उठाउँदै आईफोन जस्तै देखिने गरी बनाइएका नक्कली उत्पादन समेत बिक्री गरिरहेका हुन्छन् । प्राय: त्यस्ता उत्पादन तेस्रो पक्षमार्फत सस्तो मूल्यमा बेचबिखन हुने गर्छन् । 

झुक्किएर तपाईंले त्यस्ता उत्पादन खरिद गरी हाल्नु भयो भने तपाईंको पैसा बगरमा जाने नै भयो । सँगै पश्चात्ताप पनि उस्तै हुन्छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने भएकाले नक्कली छुट्याउन केही उपाय लगाउनु पर्ने हुन्छ । 

आज हामी तपाईंलाई कुनै आईफोन सक्कली हो कि नक्कली, चिन्ने तरिका बताउँदै छौं :

प्याकेजिङ र अन्य सामग्री हेर्ने 

कुनै पनि आईफोन सक्कली हो कि नक्कली, थाहा पाउने सजिलो तरिका प्याकेजिङ र अन्य सामग्री हेर्नु हो । किनकि एप्पलले आईफोनसँगै प्याकेजिङमा समेत मेहेनत गरेको हुन्छ  । गुणस्तरीय तस्विर, सही अक्षर र रङ्ग संयोजन यसका केही उदाहरण हुन् । 

अनि प्याकेजिङमा अन्य सामग्री पनि हुन्छन् । यदि ती कमसल खालका छन् भने तपाईंले किनेको आईफोन नक्कली हुन सक्छ । 

सिरियल नम्बर र आईएमईआई 

अन्य स्मार्टफोनमा जस्तै आईफोनमा युनिक सिरियल नम्बर र इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर हुने गर्छ । तपाईंले आफ्नो आईफोनमा देखिने नम्बर एप्पलको आधिकारिक वेबसाइटमा भए/नभएको जाँच गर्न सक्नुहुन्छ । 

यसरी खोज्दा भेटिएन भने सो आईफोन नक्कली भनेर बुझ्नु पर्ने हुन्छ । यसका साथै तपाईंको फोनले देखाउने (*#06# टाइप गरेर देखिने), प्याकेजमा देखिने आईएमईआईलाई सिम ट्रेमा देखिने आईएमईआईसँग दाँजेर जाँच गर्न सक्नुहुन्छ । ती मध्ये कुनैमा पनि सो नम्बर फरक हुनु हुँदैन ।

बनोटको गुणस्तर हेर्ने 

आईफोन प्रिमियम र स्तरीय बिल्ट क्वालिटीका कारण प्रख्यात छ । जब तपाईंले सक्कली आईफोन समात्नु हुन्छ, तपाईंले त्यसको बनोटमा कुनै पनि कमी कमजोरी पाउनु हुन्न । उदाहरणका लागि, किनार तिर खाली भाग हुँदैन । बटनहरूमा समस्या हुँदैन । 

तर नक्कली आईफोनमा यस्ता समस्या हुन सक्छन् । यस कारण तपाईंले आधिकारिक स्टोर बाहेक अन्य ठाउँबाट आईफोन खरिद गर्दै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नु पर्ने हुन्छ । कतै कमजोरी देख्नु भयो भने सोच्नुहोस् कि त्यो नक्कली आईफोन हो । 

सफ्टवेयर र फिचर हेर्ने  

कुनै आईफोन सक्कली हो वा होइन भनेर थाहा पाउने सजिलो तरिका हो, सफ्टवेयर र फिचर हेर्ने । सक्कली आईफोन एप्पलको आधिकारिक ओईओएसमा चल्ने गर्छ । तपाईं आफूले किनेको आईफोनमा कुन अपरेटिङ सिस्टम छ भन्ने कुरा सेटिङमार्फत थाहा पाउन सक्नुहुन्छ । तर नक्कली आईफोनमा भने प्राय: आईओएस जस्तै देखिने लञ्चर अथवा अपरेटिङ सिस्टममा चलाइएको हुन्छ । 

यदि अझै अलमलमा हुनु भयो भने तपाईंले भोइस असिस्टेन्ट मोड पनि प्रयोग गर्न सक्नु हुन्छ । त्यस क्रममा सो फिचरले काम गरेन भने आईफोन नक्कली हुन सक्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १०:२९