काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा आफूलाई निर्मला पन्त प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्तिको भिडिओ भाइरल छ । भिडिओमा देखिने व्यक्ति गोरखाका नवराज अर्याल हुन् । अर्यालले आफ्नो सुरक्षा सरकारले दिए निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिको नाम सार्वजनिक गर्ने दाबी गरेका छन् ।
भाइरल भएको सो क्लिप प्राइम टाइम्स एचडी टेलिभिजनमा पत्रकार ऋषि धमलाले चलाउने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो क्लिपमा आफ्नो धारणा राख्दै टिकटक, फेसबुक, एक्स लगायतमा सार्वजनिक गरिरहेका छन् । भिडिओमा अर्यालले उठाएका केही विषय विश्लेषण गर्दा दाबी शंकास्पद देखिन्छ ।
उनले बोलेका शंका गर्ने ठाउँ !
पत्रकार धमलाले सबैभन्दा पहिले अतिथि चिनाउन 'तपाईंको परिचय दिनुस्' भन्छन् । त्यसपछि अर्याल भन्छन्, “मेरो नाम गोरखा जिल्ला नारेश्वर गाबिस वडा नम्बर ४ हुल्सिङ ।” यहाँ उनी आफ्नो नाम पनि भन्न सक्दैनन् । त्यसलाई सच्याउँदै धमलाले अर्यालको पूरा नाम आफैं भनिदिन्छन् ।
उनी आफू २०५८ मंसिर २२ गतेदेखि खानेपानी विभागमा नियुक्त भई ड्राइभिङ गरिरहेको बताउँदै १६ जना मन्त्रीको ड्राइभर भएको दाबी गर्छन् । तर, नाम चिरञ्जीवी वाग्ले, बुद्धिमान तामाङ, नारायणसिंह पुन, प्रकाशमान सिंह र बिना मगरबाहेक अरूको भन्न सक्दैनन् । त्यसमा आफू 'कन्फ्युज' भएको भन्दै टार्छन् ।
२०७५ मा तत्कालीन खानेपानीमन्त्री बिना मगरलाई लिएर कञ्चनपुर जाँदा मन्त्रीलाई घरमा छोडी आफूहरू बाहिर घुम्न गएको बेला ‘बेलौरी’मा बलात्कार भइरहेको देखेको उनको दाबी छ । त्यही भिडिओमा उनले आफू कञ्चनपुर पहिलो पटक पुगेको बताएका छन् । उनले भिडिओमा भनेको निर्मला पन्तको बलात्कारपछि हत्या भएको स्थान कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ को उल्टाखाम भन्ने ठाउँ हो ।
बेलौरी बजार त्यो ठाउँभन्दा ४७ किलोमिटर टाढा पर्छ । सवारी साधनबाट त्यस ठाउँमा पुग्न एक घण्टा १५ मिनेटभन्दा बढी लाग्ने गुगल म्यापले देखाउँछ । अर्थात् अर्यालले बलात्कार भइरहेको देखेको दाबी गर्ने ठाउँ नै वास्तविक ठाउँभन्दा फरक छ ।
भिडिओमा बारम्बार उनले आफूले ती मान्छेहरूलाई चिन्ने दाबी गरेका छन् । गोरखाको मान्छे पहिलो पटक कञ्चनपुर गएको छ, अनि बलत्कार भइरहेको देखेको छ । पहिलो पटक देखेका व्यक्तिका आधारमा उनीहरू को हुन्, कुन पार्टीमा आबद्ध छन्, या उनीहरू कसका आफन्त या छोराछोरी हुन् भन्ने कुरा तत्कालै थाहा पाउने वा याद राख्न सक्नु स्वाभाविक हुँदैन । यसको आधारमा यस्ता दाबीहरू आफैंमा विवादित हुन्छन् ।
उनी कतिबेला निर्मला पन्त साइकल चलाएर आइरहेको देखेको थिएँ भन्छन्, कतिबेला हल्ला भइरहेको देखेको थिएँ भन्छन् । यी सबै विश्लेषण गर्दा उनले बनावटी घटना सुनाइरहेका छन् भन्ने देखिन्छ ।
के भन्छ सीआईबी ?
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले क्लिप भाइरल भएपछि अर्याललाई कार्यालय बोलाइएको बताए । “नक्कली सवारी चालक अनुमतिपत्र लिएको पाइएपछि २०७७ सालमा उनी बर्खास्त भएका रहेछन्,” बोगटीले भने, “त्यसैको फ्रस्टेसन भएजस्तो जस्तो देखिन्छ । हामीले मङ्गलबार दिनभर सोधपुछ गर्यौं । कुराहरू विश्वास गर्न सकिने खालका छैनन् ।”
सोधपुछका क्रममा अर्यालले भनेको घटना र वास्तविक घटना मेल खाने नदेखिएको प्रहरी उपरीक्षक बोगटीले सुनाए । यसपछि अर्याल र उनकी श्रीमतीलाई नियन्त्रणमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सीआईबीले अन्तर्वार्तालाई लिएर पत्रकार ऋषि धमलासँग पनि सोधपुछ गरिरहेको बोगटीले जानकारी दिए ।