काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे अवसरमा लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । १० डिसेम्बरमा मनाइने यस दिवसको अवसरमा आयोगले मानव अधिकार विषय प्रदान लघु चलचित्र प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा इच्छुकले लघु चलचित्रसँगै रिल्स, शर्ट्स अथवा भिडिओ पनि पठाउन सक्नेछन् । मानव अधिकारसम्बन्धी समस्याहरू पहिचान गर्न, तिनमा सुधार गर्न सकिने सम्भावनालाई उजागर गर्न यस्तो प्रतियोगिता गर्न लागिएको आयोगले जनाएको छ ।
इच्छुक सहभागीले बढीमा १० मिनेट लामो चलचित्र गुगल ड्राइभमा अपलोड गरेर [email protected] वा [email protected] मा मेल गर्नु पर्ने हुन्छ । यसपछि छनोट भए सहभागीले आफ्नो सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक आदि) मार्फत चलचित्र अपलोड गर्नुपर्ने हुन्छ । जुन लिङ्क आयोगलाई पनि पठाउनुपर्ने छ ।
यसपछि सञ्जालमा अपलोड गरिएको चलचित्रमा आएका प्रतिक्रियाहरू र निर्णायक मण्डलले दिने अङ्कका आधारमा विजेता छनोट गरिने छ । तर बुस्ट गरी प्रतिक्रिया बढाइए चलचित्रलाई प्रतियोगितामा सहभागी नगराइने आयोगले जनाएको छ ।
यसरी विजेता बनेका चलचित्रहरू वार्षिकोत्सव कार्यक्रममा समेत देखाइने छ । यसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।