काठमाडौं । एप्पलको एआई टुल एप्पल इन्टेलिजेन्स प्रयोग गर्न आईफोन प्रयोगकर्ता उत्साहित छन् । कम्पनीले केही महिना अघि नै यो टुल घोषणा गरेको भए पनि हालसम्म सबैका लागि उपलब्ध भएको छैन।
यसैबिच गुगलले सिरीलाई चुनौती दिंदै बिहीबार एआईमा आधारित जेमिनाई एप आईओएसमा सार्वजनिक गरेको छ । यहाँ क्लिकगरेर आईओएस प्रयोगकर्ताले जेमिनाई एप इन्स्टल गर्न सक्छन् ।
यससँगै अब आईओएस प्रयोगकर्ताले पनि गुगलको जेमिनाई एपमा एआईसँग बोलेरै कुरा गर्न सक्नेछन् । यता एप्पलले भने आगामी वर्ष सिरीमा एप्पल इन्टेलिजेन्स समावेश गर्ने बताएको छ ।
हुन त गुगलको आईओएस एपमा पहिले नै जेमिनाई इन्टिग्रेट भइसकेको छ । त्यसैले छुट्टै जेमिनाई एप इन्स्टल गरिरहन पर्दैन । गुगलकै एपबाट प्रयोगकर्ताले फोटो तयार पार्न सक्ने सक्छन् ।
तर, जेमिनाई लाइभ अर्थात मान्छेको शैलीमा बोलेरै कुराकानी गर्न सकिने फिचरका लागि भने प्रयोगकर्ताले जेमिनाई एप नै प्रयोग गर्नुपर्ने हुन्छ । यो फिचर कम्पनीले गत महिनादेखि एन्ड्रोइडमा सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउन थालेको थियो ।
जेमिनाई एपमा बोलेर कुरा गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् । त्यसपछि तल दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् । अनि आफूलाई उपयुक्त लाग्ने आवाज छान्नुहोस् । र, बोलेरै चाहेको कुराकानी गर्नुहोस् ।