close

​जब आईआईटीबाट उत्तीर्ण सफ्टवेयर इन्जिनियरले 'पाइथन'लाई धन्यवाद दिँदै नयाँ घरको फोटो राखे

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १२:४८

​जब आईआईटीबाट उत्तीर्ण सफ्टवेयर इन्जिनियरले 'पाइथन'लाई धन्यवाद दिँदै नयाँ घरको फोटो राखे

काठमाडौं । प्रविधि क्षेत्रको विकासले लाखौँ युवाहरूलाई सफलता हासिल गर्ने नयाँ अवसर मिलेको छ । यसैको उदाहरण बन्न पुगेका छन्, इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), खडगपुरका पूर्व विद्यार्थी अनिमेश चौहान ।

भारतीय सञ्चार माध्यमहरूमा अहिले उनी छाइरहेका छन् । यसको कारण हो, उनले आफ्नो सपना पूरा गर्ने आधार बनेको प्रोग्रामिङ ल्याङ्ग्वेजलाई धन्यवाद दिनु । हालै मात्र उनले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ घरको फोटो राख्दै लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज पाइथनलाई धन्यवाद दिएका थिए ।  

बैङ्गलोरमा रहेको एक वित्तीय कम्पनीमा अनिमेश सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत छन् । त्यही काम गरेर उनले आफ्नो जन्मथलोमा ठुलो तीन तले घर बनाए । त्यही घरको फोटो उनले एक्समा राखेका थिए ।

उनको एक्स प्रोफाइल हेर्ने हो भने त्यति सक्रियता देखिँदैन । तर ‘धन्यवाद पाइथन’ लेखेको उनको ट्वीटमा भने छोटो समयमै १३ लाखभन्दा बढी भ्युज, हजारौँ लाइक, र सयौँ कमेन्ट थुप्रिएका छन् । 

 

जहाँ धेरैले उनलाई बधाई दिनुका साथै सफलता प्राप्त गरेकोमा प्रशंसा व्यक्त गरिरहेका छन् । तर कतिपयले भने उनको सफलतामा पाइथनसँगै परिवारको योगदान समेत रहेको लेखेका छन् । 

त्यस्तै केही प्रयोगकर्ताहरूले भने अब पाइथन सिक्नु पर्ने समय आएको भनेर ख्याल ठट्‍टा पनि गरिरहेका छन् । यसका साथै आफ्नो कामबाट नभई पैतृक सम्पत्तिबाट घर बनाएको भनेर समेत केही प्रयोगकर्ताहरूले आरोप लगाइरहेका छन् । 

हिन्दुस्तान टाइम्सका अनुसार उनी परिवारमा पहिलो पुस्ताका इन्जिनियर हुन् । यस कारण पैतृक सम्पत्तिबाट घर नबनाएको अनिमेशको भनाई छ । हाल टीसीएस, इन्फोसिस, विप्रो लगायतका कम्पनीले भारतको आईटी क्षेत्र विस्तार गर्न ठूलो भूमिका खेलिरहेका छन् । 

यसले गर्दा लाखौँ जनशक्तिहरूले रोजगारी पाइरहेका छन् । नतिजास्वरूप धेरैको जीवनशैलीमा प्रत्यक्ष परिवर्तन ल्याएको देख्न सकिन्छ । विशेषत: बढी तलब र आकर्षक करियरका कारण युवाहरूको जीवन नयाँ उचाइमा पुगिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १२:५०