काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सको शीर्ष प्रायोजन गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एनसेल र उक्त टिमबीच सम्झौता भएको हो ।
प्रायोजन सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बर कायुमोभ र लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले हस्ताक्षर गरे । सो अवसरमा एनसेल अंकित लुम्बिनी लायन्सको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
पहिलो संस्करणको यस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा समेत एनसेल रहेको छ । साथै क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले एनपीएल प्रहार गरिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार ओटा एजुकेसनल किट प्रदान गर्ने घोषणा गरेको छ ।