अमेरिकाले बालबालिकाको अनलाइन सुरक्षाका लागि सामाजिक सञ्जाल कम्पनीलाई थप जिम्मेवार बनाउने
असार १६, २०८३ ७:३५
काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले बालबालिका तथा किशोरहरूको अनलाइन सुरक्षालाई मजबुत बनाउने उद्देश्यसहित 'किड्स इन्टरनेट एन्ड डिजिटल सेफ्टी' ऐन पारित गरेको छ । यस नियमले सामाजिक सञ्जाल तथा अन्य अनलाइन प्लेटफर्महरूलाई बालबालिकाको सुरक्षाका लागि नयाँ सुरक्षा मापदण्ड लागु गर्न बाध्य पार्ने व्यवस्था प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभाले सोमबार भएको मतदानमा उक्त विधेयकलाई २६७-११७ मतले पारित गरेको हो । यसलाई डेमोक्रेट र रिपब्लिकन दुवै दलका सांसदहरूको समर्थन प्राप्त भएको थियो । प्रस्तावित नियाम अनुसार अनलाइन कम्पनीहरूले किशोर प्रयोगकर्तालाई लत लाग्न सक्ने फिचरहरू सीमित गर्नुपर्नेछ । साथै, यौन शोषणलगायतका अनलाइन जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक नीति र सुरक्षा उपाय लागु गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यो अमेरिकी प्रतिनिधिसभाले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी अघि सारेको पहिलो प्रमुख संघीय विधेयक हो । यद्यपि प्रस्तावित कानुन अमेरिकी सिनेटबाट पनि पारित भएपछि मात्र लागु हुनेछ । तर सिनेटका सांसदहरूले अझ कडा मापदण्ड आवश्यक रहेको बताउँदै प्रतिनिधिसभाबाट पारित संस्करणमा संशोधन हुनुपर्ने संकेत दिएका छन् । त्यसैले विधेयकको अन्तिम स्वरूपलाई लिएर सिनेटमा पुनः बहस हुने अपेक्षा गरिएको छ ।
हालका वर्षहरूमा किशोरहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोग, मानसिक स्वास्थ्यमा पर्ने असर, अनलाइन दुव्र्यवहार, यौन शोषण तथा लत लाग्ने एल्गोरिदम डिजाइनबारे बढ्दो चिन्तापछि अमेरिकी सांसदहरूले प्रविधि कम्पनीहरूलाई थप उत्तरदायी बनाउने प्रयास तीव्र पारेका छन् ।
पछिल्लो अध्यावधिक: असार १६, २०८३ ७:३८
