काठमाडौं । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको सर्च इन्जिनमा ठूलो परिवर्तन हुने बताएका छन् । हालै न्यूयोर्क टाइम्सको डिलबुक समिटमा बोल्दै पिचाईले सर्च इन्जिनमा परिवर्तन ल्याउन लागेको सङ्केत दिएका हुन् ।
उनका अनुसार सर्च इन्जिनमा पहिलेभन्दा झन् अझ जटिल प्रश्नहरूको समाधान गर्ने क्षमता आउने छ । सन् २०२५ को सुरुतिर नै देखिने यो परिवर्तनले प्रयोगकर्तालाई आश्चर्य दिने पिचाईको भनाइ छ । “२०२५ को सुरुतिर नै सर्च इन्जिनले अहिलेको भन्दा धेरै जटिल प्रश्नहरूको समाधान दिनेछ," उनले भने ।
२०२४ मा गुगलले सर्च इन्जिनमा एआई ल्याउँदै महत्त्वपूर्ण परिवर्तन गरिसकेको छ । जसमा सर्च रिजल्ट सारांश गर्नेदेखि भिडिओ माध्यमबाट इन्टरनेटमा सर्च गर्न मिल्नेसम्मका सुविधा छन् ।
सोही कार्यक्रममा उनले माइक्रोसफ्टका सीईओ सत्य नडेलाको टिप्पणीप्रति प्रतिक्रिया दिँदै माइक्रोसफ्टले आफ्नो एआई मोडेल नभई अन्यको मोडेल प्रयोग गरिरहेको दाबी गरे । उनले गुगलले आफ्नै प्रविधिमा आधारित रहँदै एआई क्षेत्रमा उत्कृष्ट बन्ने लक्ष्य राखेको सुनाए ।
पिचाईका अनुसार अहिले सर्च इन्जिन र एआई क्षेत्रमा ठूलो परिवर्तनको सुरुवात भइरहेको छ । यस क्षेत्रको आगामी भविष्य निकै उज्ज्वल भएको बताउँदै उनले नयाँ-नयाँ प्रविधि ल्याउने काममा गुगल निरन्तर अग्रसर रहने बताए ।