बुटवल । ढुवानी सेवालाई परिस्कृत र डिजिटलीकरण गर्ने उद्देश्यका साथ बुटवलमा ‘ई-ट्रान्सपोर्टेसन सर्भिस’ कम्पनी सञ्चालनमा आएको छ । हालै पत्रकार सम्मेलन गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डलले मोबाइल एपमार्फत यातायातको ढुवानी व्यवसायलाई थप व्यवस्थित बनाउने मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार पहिलो चरणमा मोबाइल एपमार्फत सर्भिस भेहिकल्स, मिनी ट्रक, ट्रक, एम्बुलेन्सका साधनहरू जोडिएका छन् ।
मोबाइल एपमार्फत प्रयोगकर्ताले सवारी साधनको सेवा लिन सक्ने र ट्रान्सपोर्ट कम्पनीहरूले सोही एपमार्फत निःशुल्क दर्ता गर्न सक्ने मण्डलले बताए ।
"ई-ट्रान्सपोर्टेसन सर्भिसमार्फत ढुवानी सेवाका लागि साधन मगाउन सकिनेछ भने गाडीको मर्मतका लागि पनि मेकानिक मगाउन सकिने व्यवस्था गरिएको छ । यस्तै पेट्रोल पम्पहरूको स्थानसमेत एपमा राखिएको छ । सबै प्रकारका गाडीको कागजपत्र नवीकरण लगायतका विवरण पनि एपमार्फत जानकारी लिन सकिने छ," मण्डलले भने ।
एक करोड लागतमा सञ्चालमा आएको ई-ट्रान्सपोर्टेसन सर्भिसको प्रधान कार्यालय तिलोत्तमा-१३, पत्थरडाँडामा रहेको छ । यस्तै बुटवल-११ कालिकानगर, तिलोत्तमा-३ योगीकुटी र ओमसतिया-२ पडसरीमा शाखा विस्तार गरिएको छ । कम्पनीले निकट भविष्यमा काठमाडौँमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।
पहिलो चरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका क्षेत्रका एम्बुलेन्सलाई पनि एपमा समेटिएको बताउँदै उनले निकट भविष्यमा अन्य स्थानहरूमा समेत सेवा विस्तार गरिने जानकारी दिए ।