काठमाडौं । नेपालले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले केही दिन अघि संयुक्त अरब इमिरेट्सको राजधानी आवुधावीमा आयोजित वी प्रोटेक्ट ग्लोबल अलाएन्सको ग्लोबल समिट २०२४ लाई सम्बोधन गर्दै नेपालको तर्फबाट यस्तो प्रतिबद्धता जनाएका हुन् ।
डिजिटल युगमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारले गरिरहेका पहलहरूको चर्चा गर्दै उनले भने, “सरकार बालबालिका र युवाहरूलाई जोगाउन बलियो नीति र कानून तयार पार्दैछ ।”
उनले अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकार, गैरसरकारी संस्था, शैक्षिक संस्थाहरू र निजी क्षेत्रबिचको सहकार्यको आवश्यकता समेत औँल्याएका थिए ।
नेपालले वी प्रोटेक्टको मोडेल नेसनल रेस्पोन्सलाई कार्य ढाँचाको रूपमा अपनाउने र बालबालिकाको अनलाइन सुरक्षाका लागि व्यापक र समन्वयकारी दृष्टिकोण अपनाउने जानकारी पनि मन्त्री साह सुदीले दिए । अनलाइन यौन दुरुपयोग र शोषणबाट बालबालिकालाई जोगाउने सरकारको प्रतिबद्धताको स्वागत गर्दै चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले यसलाई प्रतिबद्धता गम्भीरतापूर्वक लिन र बालबालिका र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न पर्याप्त लगानी गर्न आग्रह गरे ।
चाईल्डसेफनेट वी प्रोटेक्ट ग्लोबल अलायन्सको सदस्य हो । जसले नेपालमा बालबालिकाको अनलाइन सुरक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।