close

च्याटजीपीटीले अब तपाईँको अनुहार हेरेर जवाफ दिने

टेकपाना टेकपाना

मंसिर २९, २०८१ १४:१

च्याटजीपीटीले अब तपाईँको अनुहार हेरेर जवाफ दिने

काठमाडौं । अब च्याटजीपीटीमा भिडिओ च्याट जसरी कुरा गर्न सकिने भएको छ । ओपनएआईले यस प्लेटफर्ममा क्यामेरा प्रयोग गर्न सकिने फिचर ल्याउन लागेको हो । ​यो फिचर उपलब्ध भइसकेपछि च्याटजीपीटीको एपले फोनको स्क्रिन र क्यामेराको एक्सेस पाउने छ । यसले गर्दा प्रयोगकर्तालाई बारम्बार फोटो अपलोड गरिरहन पर्दैन ।

कुराकानीकै क्रममा स्क्रिन शेयर गरेपछि च्याटजीपीटीले आफूले देखेको फोटो वा स्क्रिनको विषय वस्तुलाई आधार बनाई कुरा अगाडि बढाउनेछ । त्यस्तै भिडिओ च्याट गरेजसरी च्याटजीपीटीको एड्भान्स्ड भ्वाइस मोडसँग भिडिओमै कुराकानी गर्न सकिनेछ । यससँगै तपाईंको हाउभाउ, अनुहारको भाव आदिका आधारमा च्याटजीपीटीले कुरा गर्नसक्ने बताइएको छ । 

महिनौंको परीक्षणपछि गत सेप्टेम्बरमा ओपनएआईले एड्भान्स्ड भ्वाइस मोड सार्वजनिक गरेको थियो । यस फिचरको सहायताले च्याटजीपीटीसँग बोलेरै अन्तर्क्रियात्मक तरिकाले कुरा गर्न सकिन्थ्यो । कुरा गरिरहँदा मान्छेकै लवजमा कुरा गर्ने, बीचमा अवरोध आएको थाहा पाउने र त्यसैलाई आधार बनाई जवाफ दिने फिचर उपलब्ध गराइएको थियो ।

गत मे महिनामा कम्पनीले लाइभ भिडिओ मोडको पनि चर्चा गरेको थियो । उक्त फिचरले क्यामेरा कसरी प्रयोग गर्न सक्छ भन्ने डेमो प्रस्तुत गरिएको थियो । अन्ततः भिडिओ मोडको चर्चा गरेको सात महिनापछि कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । 

यो फिचर उपलब्ध भइसकेपछि भ्वाइस मोडकै आइकनमा गई भिडिओ र स्क्रिन शेयरको अप्सन छान्न सकिनेछ । त्यसपछि तपाईंले कुन अप्सन छान्नुभयो त्यसैका आधारमा अन्तर्क्रियात्मक च्याट अगाडि बढ्नेछ । 

यो फिचर सुरुवाती चरणमा च्याटजीपीटी प्लस, प्रो र टिम्स प्रयोगकर्ताले प्रयोग गर्न पाउने बताइएको छ । इन्टरप्राइज र ईडीयू प्रयोगकर्ताले भने जनवरीदेखि मात्र यो फिचर प्रयोग गर्न पाउनेछन् । 

यो फिचर उपलब्ध भएसँगै गोपनीयताका सवालहरू उठेका छन् । खासगरी स्क्रिन शेयर गर्दा त्यसमा भएका संवेदनशील कागजातको जानकारी च्याटजीपीटीले सङ्कलन गर्न सक्ने विज्ञहरूको चिन्ता छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८१ १४:५०