काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका दुई सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवासहितका हाई-टेक स्मार्ट कक्षा स्थापना गरेको छ । फाउन्डेसनले जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा डिजिटल साक्षरता विकास गर्दै विद्यार्थीहरूलाई थप शैक्षिक अवसर सिर्जना गर्ने लक्ष्यका साथ यो पहल अघि बढाएको हो ।
यस परियोजनाको उद्घाटन कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठ, एमट्रिक्स टेक्नोलोजीका सह-संस्थापक चिराग थापा, फाउन्डेसनका कार्यक्रम संयोजक विकास खत्री, एक अभियानकी संयोजक तजैना श्रेष्ठ, जनप्रिय स्कुलका व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापा र प्रधानाध्यापक गणेश बहादुर भण्डारी, भीमादरबार आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र थापा र प्रधानाध्यापक रुद्र पौडेल, काठेखोला गाउँपालिकाका शिक्षा समिति अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष खड्क थापा, वडा नम्बर २ का अध्यक्ष विद्यापति शर्मा, सामाजिक अभियन्ता गंगा थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष श्रेष्ठले प्रविधिमार्फत शैक्षिक समानताका लागि संस्थाको प्रतिबद्धता रहेको र शिक्षा घरबाट सुरु हुन्छ भन्ने विश्वासमा जोड दिएका थिए । फाउन्डेसनले केही समयअघि गरेको अध्ययनले ग्रामीण विद्यालयहरूमा आईसीटी पूर्वाधारको आवश्यकता रहेको देखाएपछि यो परियोजना सुरु गरिएको हो । परियोजनामा एपिनिक फाउन्डेसनको पनि सहयोग रहेको छ ।
दुवै विद्यालयमा सोलार ऊर्जा प्रणाली जडान गरिएको छ । यसले विद्युत आपूर्ति नभएको अवस्थामा पनि सेवा निरन्तरता प्रदान गर्नेछ । विद्यालयहरूमा स्थापना गरिएका कम्युनिटी इन्टरनेट एक्सेस सेन्टरहरूले स्थानीय समुदायलाई नि:शुल्क वाई-फाई र डिजिटल पहुँच उपलब्ध गराउनेछन् ।