close

शब्दकै आधारमा फोरके क्वालिटीको यथार्थपरक भिडिओ बनाइदिने गुगलको एआई टुल सार्वजनिक

टेकपाना टेकपाना

पुस ३, २०८१ १२:३२

शब्दकै आधारमा फोरके क्वालिटीको यथार्थपरक भिडिओ बनाइदिने गुगलको एआई टुल सार्वजनिक

काठमाडौं । शब्दकै आधारमा वास्तविक जस्तै भिडिओ तयार पारिदिने गुगलको एआई टुल ‘भिओ’ (Veo) को दोस्रो संस्करण सार्वजनिक भएको छ । हालै एक ब्लग लेख्दै गुगलले यथार्थपरक र फोरके क्वालिटीका भिडिओ बनाउन सक्ने ‘भिओ टु’ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस टुलले शब्दकै आधारमा वास्तविक संसारको जस्तै भिडिओ सिर्जना गरिदिन्छ । यस टुलले मानिसको हाउभाउ र वास्तविक संसारका विवरणहरूलाई राम्रोसँग बुझ्ने भएकाले भिडिओहरूमा अनावश्यक त्रुटिहरू कम हुने कम्पनीको भनाइ छ । 

“सामान्यतया भिडिओ मोडेलहरूले अनावश्यक विवरण जस्तै अतिरिक्त औंला वा अकल्पनीय वस्तुहरू ‘कल्पना’ गर्न सक्छन्, तर ‘भिओ टु’ मा यस्ता त्रुटिहरू न्यून छन्, जसले भिडिओलाई झन् यथार्थपरक बनाउँछ,” गुगलले भनेको छ ।

गल डिपमाइन्डद्वारा विकास गरिएको यस टुलले उच्च गुणस्तरका जीवन्त र यथार्थपरक भिडिओहरू तयार पार्नसक्ने बताइएको छ । यसका लागि प्रयोगकर्ताले केवल टेक्स्ट प्रम्प्ट वा फोटो अपलोड गरे पुग्छ ।

गुगलले पहिलोपटक मे महिनामा गुगल आई/ओ सम्मेलनमा भिओ सार्वजनिक गरेको थियो, जुन ओपनएआईको सोराको मुख्य प्रतिस्पर्धी हो । नयाँ संस्करण भिओ टु हाल गुगल ल्याब्सको भिडिओएफएक्स प्लेटफर्ममा वेटिङ लिस्टमा रहेका प्रयोगकर्ताका लागि उपलब्ध छ । अहिले यो टुलबाट अधिकतम आठ सेकेन्ड लामो र ७२० पिक्सेल रेजोलुसनका भिडिओ मात्र बनाउन सकिन्छ ।

सर्वसाधारणका लागि यो टुल कहिलेदेखि उपलब्ध हुन्छ र शुल्क कति पर्छ भन्नेबारे गुगलले केही खुलाएको छैन। अहिले गुगलका अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालमा नमुना भिडिओहरू सार्वजनिक गर्दै ‘भिओ टु’ को क्षमता प्रदर्शन गरिरहेका छन् ।

“भिओ टु ले सिनेमाटोग्राफीको विशिष्ट भाषा बुझ्छ,” गुगलले भनेको छ, “यसलाई कुनै विधा, लेन्स‍ वा सिनेमाटिक प्रभावको सुझाव दिनुहोस्, तपाईंले चाहेको भिडिओ तयार हुन्छ ।” गुगलका अनुसार यस टुलले तयार पार्ने भिडिओमा बाहिरबाट नदेखिने डिजिटल वाटरमार्क हुनेछ । यसले गलत सूचना फैलाउन रोक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८१ १२:५७