काठमाडौं । नेपाली विद्यार्थी समूह ‘टिम उडान’ अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने भएको छ । काठमाडौं विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै यो टिमले अमेरिकामा हुने १८औं एनुअल इन्टरनेसनल रकेट इन्जिनियरिङ कम्पिटिसन (आईआरईसी २०२५) मा सहभागिता जनाउन लागेको हो ।
सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने प्रतियोगितामा विश्वभरका १५० बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट यो प्रतियोगितामा सहभागी हुने अवसर पाएकोमा उत्साहित भएको ‘टिम उडान’ का लिडर समिप अर्यालले बताए ।
अर्यालका अनुसार प्रतियोगिताका लागि आवश्यक मापदण्ड पूरा गर्दै रकेट निर्माण भइसकेको छ । अब रकेट परीक्षणका लागि सम्बन्धित निकायबाट अनुमति लिइने छ ।
प्रतियोगितामा सहभागी हुन यो टिम आवश्यक आर्थिक सहयोग जुटाउन लागिपरेको छ । विश्वविद्यालयले रकेट निर्माणका सामग्रीमा सहयोग गरेपनि अमेरिका जाने टिमको खर्च व्यवस्थापनका लागि दाताहरूको सहयोग आवश्यक रहेको अर्यालले बताए ।
नेपाली विद्यार्थी समूहले निर्माण गरेको रकेटको नाम ‘उडान ए’ हो । २.५ मिटर उचाइ र ११० मिलिमिटर गोलाइ रहेको रकेट १०,००० फिट उचाइसम्म उड्ने दाबी गरिएको छ । कूल तौल १८ केजी रहेको रकेटको पेलोड तौल २.२ केजी छ । पुन: प्रयोग गर्न सकिने रकेटमा ह्युमिडिटी, प्रेसर लगायतका सेन्सर जडान गरिएको छ । प्रा. डा विवेक बारल यस टिमको सुपरभाइजर रहेका छन् । त्यस्तै यस टिमलाई एस्ट्रल स्पेस रिसर्च नेपाल (Astral Space Research Nepal) ले निरन्तर सहयोग गरिरहेको टिम लिडर अर्यालले बताए ।