काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध रोक्न त्यहाँको सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । राजनीतिक समझदारीका लागि समय दिन आग्रह गर्दै ट्रम्प अदालत पुगेका हुन् ।
ट्रम्पका वकिलले शुक्रबार अदालतमा दायर गरेको निवेदनमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने कुरामा असहमति जनाउँदै यस समस्यालाई राजनीतिक माध्यमबाट समाधान गर्न चाहेको उल्लेख गरेका छन् ।
अमेरिकी कानुनअनुसार टिकटकको चिनियाँ कम्पनी बाइटडान्सले १० जनवरीभित्र आफ्नो स्वामित्व कुनै अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने वा १९ जनवरीदेखि प्रतिबन्ध सामना गर्नुपर्ने निर्णय गरिएको छ । अमेरिकी अधिकारीहरूले बाइटडान्सलाई चिनियाँ सरकारसँग सम्बन्धित रहेको आरोप लगाए पनि कम्पनीले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकामा टिकटकका १७ करोड बढी प्रयोगकर्ता छन् । यसैकारण अमेरिकी कांग्रेसले अप्रिलमा एउटा कानुन पारित गरेको थियो, जसमा बाइटडान्सले आफ्नो स्वामित्व अमेरिकी कम्पनीलाई बेच्नुपर्ने वा टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने प्रावधान राखिएको थियो ।
टिकटक र बाइटडान्सले यो निर्णयविरुद्ध कानुनी चुनौती दिएका छन् । तर, हालसम्म उनीहरूको प्रयास सफल भएको छैन । १० जनवरीमा सर्वोच्च अदालतले यस विषयमा दुवै पक्षको दलील सुन्ने तयारी गरेको छ ।
ट्रम्पले टिकटकका प्रमुख कार्यकारी अधिकारी शौ जी च्यूसँग गत साता भेट गरेका थिए । उनले अदालतमा दायर गरेको निवेदनमा यो मामिला अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय सुरक्षाबीचको गम्भीर तनाव भएको बताएका छन् ।
सर्वोच्च अदालतले यसअघि टिकटकलाई अस्थायी राहत दिन अस्वीकार गरे पनि जनवरीमा दुवै पक्षलाई आफ्नो पक्ष राख्न मौका दिने बताएको छ । योसँगै अमेरिकामा टिकटकको भविष्य अन्योलमा परेको छ भने राष्ट्रिय सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताबीचको बहस थप गम्भीर बनेको छ ।