काठमाडौं । एन्ड्रोइड डिभाइसबीच सजिलै फाइल पठाउन प्रयोग गरिने 'क्विक शेयर' फिचरमा नयाँ अपडेट आएको छ । यस अन्तर्गत अब क्यूआर कोड प्रयोग गरेर डकुमेन्ट, फोटो र भिडिओहरू अन्य डिभाइसमा सजिलै शेयर गर्न सकिने गुगलले जनाएको छ ।
‘नियरबाई शेयर’ बाट ‘क्विक शेयर’ बनेको यस फिचरमा लगातार सुधार भइरहेको छ । केही समयअघि ट्रान्सफरको क्रममा कति प्रतिशत ट्रान्सफर भएको थियो भनेर देखाउने सुविधा आएको थियो । अहिले क्विक शेयरमा नयाँ बटन थपिएको छ, जसअन्तर्गत प्रयोगकर्ताले नजिकका डिभाइस छान्नुको साटो क्यूआर कोड जेनेरेट गर्न सक्नेछन् ।
यो सुविधाले प्रयोगकर्तालाई आफूले चाहेको डिभाइसमा क्यूआर कोड स्क्यान गरेर दुई डिभाइसलाई कनेक्ट गर्नेछ । क्यूआर कोडको प्रयोगले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न र फाइललाई नजिकका डिभाइसहरूसँग मात्र शेयर गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
तर, यस क्यूआर कोडलाई आईओएस र विन्डोज डिभाइसहरूसँग प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा खुलाइएको छैन ।
यसका साथै, एन्ड्रोइडको नयाँ अपडेट अन्तर्गत गुगल ड्राइभमा डकुमेन्ट स्क्यान गर्ने फिचर सुधार गरिएको छ । अब डकुमेन्ट स्क्यान गर्दा यसको कन्ट्रास, ह्वाइट ब्यालेन्स, छायाँ र धमिलोपन सुधार गरेर इडिट नगरी सिधै प्रयोग गर्न सकिने गुगलले जनाएको छ ।