काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरेको छ । यस निर्णयले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो भिडिओ एपमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेको छ । साथै यसको भविष्य अब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा पुगेको छ ।
कानुन अनुसार टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले १९ जनवरीसम्ममा यस प्लेटफर्मको अमेरिकी स्वामित्व बेच्नुपर्ने हुन्छ । यो मिति ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पुन: कार्यभार सम्हाल्नु भन्दा एक दिन अघि हो । यदि कम्पनीले बेच्न नसकेमा देशव्यापी प्रतिबन्ध लाग्नेछ ।
फाइनान्सियल टाइम्सको समाचार अनुसार शुक्रबार प्रकाशित एक सर्वसम्मत रायमा सर्वोच्च अदालतले भनेको छ, “१७ करोडभन्दा बढी अमेरिकीहरूका लागि टिकटक अभिव्यक्ति, संलग्नता र समुदायको स्रोतको रूपमा रहेकोमा कुनै शंका छैन । तर काँग्रेसले टिकटकको डेटा सङ्कलन अभ्यास र विदेशी प्रतिद्वन्द्वीसँगको सम्बन्धलाई लिएर राष्ट्रिय सुरक्षा चिन्ताहरू सम्बोधन गर्न आवश्यक रहेको ठहर गरेको छ ।”
देशको सर्वोच्च अदालतको यो निर्णयको अर्थ यो भिडिओ एप आफ्नो सबैभन्दा ठूलो बजार मध्ये एकमा बन्द हुन सक्नेछ । तर, बाइडेन प्रशासनले भने आफ्नो कार्यकालको बाँकी दिनमा प्रतिबन्ध लागू नगर्ने बताएको छ ।
ह्वाइट हाउसले भनेको छ, “समयको संवेदनशीलतालाई ध्यानमा राख्दै यो कानुन कार्यान्वयन गर्ने कार्य नयाँ प्रशासनले गर्नेछ, जसले सोमबारदेखि कार्यभार सम्हाल्नेछ ।” यसले अगाडि भनेको छ, “टिकटक अमेरिकीहरूका लागि उपलब्ध हुनुपर्छ । तर अमेरिकी स्वामित्वमा वा अन्य स्वामित्वमा जसले काँग्रेसले पहिचान गरेका राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्दछ ।” ट्रम्पले अदालतको निर्णयपछि ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै भनेका छन्, “टिकटकबारे मेरो निर्णय निकट भविष्यमा गरिनेछ । तर मलाई परिस्थितिको समीक्षा गर्न समय चाहिन्छ ।”
उनले अदालतको निर्णय अपेक्षित रहेको र सबैले यसको सम्मान गर्नुपर्ने बताएका छन् । यस निर्णयपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शाउ जी च्युले टिकटकले आइतबारदेखि अमेरिकामा काम गर्न जारी राख्ने वा नराख्ने भन्ने बारे कुनै आश्वासन दिएनन् । तर, उनले ट्रम्पको प्रशंसा गरेका छन् । उनले सार्वजनिक गरेको भिडिओमा भने, “म राष्ट्रपति ट्रम्पलाई टिकटक अमेरिकामा उपलब्ध राख्ने समाधान खोज्न हामीसँग काम गर्ने प्रतिबद्धताका लागि धन्यवाद दिन चाहन्छु । यो अभिव्यक्ति स्वतन्त्रताको लागि एक बलियो अडान हो र मनमानी सेन्सरशिपको विरुद्धमा हो ।”
उनले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस प्लेटफर्मलाई ‘वास्तविक रूपमा बुझेको’ तर्क दिएका छन् । यदि केही दिनभित्र टिकटकको लागि खरिदकर्ता फेला परेन भने, कम्पनीहरूले यो भिडिओ एप वितरण वा होस्ट गर्न सेवाहरू प्रदान गर्नु गैरकानुनी हुनेछ । त्यसो गरेमा प्रति प्रयोगकर्ता ५ हजार डलर जरिवाना लाग्नेछ । एप्पल र गुगल जस्ता प्राविधिक समूहहरूले आफ्नो एप स्टोरमा यो एप उपलब्ध गराउने वा नगराउने भन्ने स्पष्ट छैन ।
साथै ओरेकलले अमेरिकामा टिकटकलाई क्लाउड र डेटा सेवाहरू उपलब्ध गराउने वा नगराउने भन्ने पनि स्पष्ट छैन । कम्पनीले आफ्ना साझेदारलाई बचाउन जानाजानी अफलाइन हुन सक्ने सम्भावना पनि छ। एप्पल, गुगल र ओरेकलले तत्काल यस विषयमा कुनै पनि सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छैनन् । अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले भनेका छन्, “यो निर्णयले न्याय विभागलाई चिनियाँ सरकारले टिकटकलाई अमेरिकाको राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन हतियारको रूपमा प्रयोग गर्नबाट रोक्न सक्षम बनाउँछ ।”
उपमहान्यायाधिवक्ता लिसा मोनाकोले थपे, “१९ जनवरीमा कानुन लागू भएपछि कार्यान्वयन र अनुपालन सुनिश्चित गर्ने प्रयासको अर्को चरण समयसँगै अघि बढ्नेछ ।”
टिकटकले कुनै पनि स्पिन-अफ प्राविधिक रूपमा सम्भव नहुने बताएको छ । जबकि बेइजिङले पहिले नै कुनै पनि बिक्रीको विरोध गर्ने सङ्केत गरिसकेको छ । ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा टिकटकबारे छलफल गरेको केही समयपछि अदालतले यो फैसला सुनाएको हो अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । चार वर्षमा दुई नेताबीच यो पहिलो फोन वार्ता थियो ।
सर्वोच्च अदालतको फैसलाले बाइडेनको कार्यकालको सबैभन्दा साहसी विधायी कदमलाई सदर गरेको छ । बिहीबार ट्रम्पका आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका थिए, “कानुनले सम्झौता टेबलमा रहेसम्म विस्तारको अनुमति दिन्छ । यसले राष्ट्रपति ट्रम्पलाई टिकटकलाई निरन्तरता दिन समय दिन्छ ।”
यसैबीच ब्लुम्बर्गले हालै एक रिपोर्ट सार्वजनिक गर्दै चिनियाँ अधिकारीहरूले अर्बपति उद्यमी एलन मस्कले प्लेटफर्म बिक्रीको लागि छलफलमा रहेको जनाएको थियो । तर, टिकटकले भने यसमा कुनै सत्यतता नभएको जनाएको थियो । केही सम्भावित खरिदकर्ता र साझेदारले ट्रम्पलाई भेटेर लबिङ गरिरहेको बताइएको छ । जसमा अमेरिकी मिडिया र खेल व्यवसायी फ्रान्क म्याककोर्ट पनि छन् ।
उनले आफ्नो गैर-नाफामुखी संस्था प्रोजेक्ट लिबर्टी मार्फत टिकटकको लागि बोलपत्र दिने लगानीकर्ताको समूह स्थापना गरेका छन् । टिकटकका प्रमुख च्युले ट्रम्पको समर्थन जुटाउन सक्रिय रूपमा काम गरिरहेका छन् । समाचारका अनुसार च्युले आइतबार वाशिङ्गटनमा नवनिर्वाचित राष्ट्रपतिको “विजय र्याली” र सोमबार उद्घाटन समारोहमा भाग लिने योजना बनाएका छन् ।
गत वर्ष बलियो द्विदलीय समर्थनका साथ पारित गरिएको टिकटक कानुनमा टिकटकलाई बेइजिङले जासुसी वा प्रचार प्रसार गर्न प्रयोग गर्न सक्ने चिन्ता सिर्जना भएको आशय व्यक्त गरिएको थियो । यद्यपि चीनले अहिलेसम्म अमेरिकी टिकटक प्रयोगकर्ताको डेटा पहुँच गर्न बाइटडान्स लिमिटेडसँगको सम्बन्धको उपयोग गरेको छ वा छैन भन्ने स्पष्ट छैन । तर अदालतले भनेको छ,
“चीनले त्यसो गर्न सक्ने सरकारको निर्धारण कम्तीमा पनि ‘पर्याप्त प्रमाणमा आधारित उचित अनुमान’ नभएको निष्कर्ष निकाल्ने कुनै आधार छैन ।” टिकटकले यो कानुन असंवैधानिक भएको र यसले अभिव्यक्ति स्वतन्त्रताको लागि पहिलो संशोधनको सुरक्षाको उल्लङ्घन गरेको तर्क गर्दै खारेज गर्न माग गरेको थियो । तर अमेरिकी पुनरावेदन अदालतले कानुनलाई चुनौती दिने टिकटकको मुद्दालाई अस्वीकार गरेपछि सर्वोच्च अदालतले यस विषयमा सुनुवाइ गरेको हो ।