काठमाडौं । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले ‘एडिट्स’ नामक भिडिओ एडिटिङ एप घोषणा गरेका छन् । आइतबार राति थ्रेड्समा भिडिओ राख्दै मोसेरीले क्यापकटपसँग प्रतिस्पर्धा गर्न उक्त एप ल्याउन लागेको जानकारी दिएका हुन् ।
क्यापकट बाइटडान्सद्वारा सञ्चालित भिडिओ एडिटिङ एप हो । १९ जनवरीमा टिकटकसँगै यस एपमा पनि प्रतिबन्ध लागेको थियो । ‘एडिट्स’ आईओएस एप स्टोरमा प्रि-अर्डरको लागि उपलब्ध भइसकेको छ ।
मोसेरीले इन्स्टाग्राममा पोस्ट गरेको भिडिओमा भनेका छन्, “अहिले धेरै कुराहरू भइरहेका छन्, तर जे भए पनि क्रियटरका लागि उत्कृष्ट टुल प्रदान गर्नु हाम्रो काम हो ।”
उनले एपको बारेमा थप वर्णन गर्दै भनेका छन्, “एडिट्स एउटा भिडिओ एडिटिङ एप मात्र नभइ क्रियटिभ टुलको भण्डारण हो । प्रेरणाको लागि एउटा छुट्टै ट्याब हुनेछ, प्रारम्भिक विचारहरू ट्र्याक गर्नको लागि अर्को ट्याब हुनेछ, उच्च गुणस्तरको क्यामेरा हुनेछ, तपाईंले अपेक्षा गरेअनुसारका सबै एडिटिङ फिचर, साथी र अन्य क्रियटरसँग ड्राफ्ट शेयर गर्ने फिचर हुनेछ । र यदि तपाईंले आफ्नो भिडिओ इन्स्टाग्राममा शेयर गर्ने निर्णय गर्नुभयो भने, ती भिडिओले कस्तो प्रदर्शन गर्छन् भन्ने बारे जानकारी पनि उपलब्ध हुनेछन् ।”
त्यस्तै एडिट्स एपको ड्याशबोर्डमा फलोअर र नन-फलोअर संलग्नताको विश्लेषण तथा प्रयोगकर्ताले कति पटक विशेष भिडिओ हेर्छन् वा हेर्न छोड्छन् भन्ने मेट्रिक्स देखिनेछ । यसमा ग्रिन स्क्रिन र भिडिओ ओभरले प्रयोग गर्न दिने एडिटिङ टुल पनि समावेश हुनेछन्, जुन टिकटक भिडिओहरूका सामान्य विशेषता हुन् ।
‘द भर्ज’का क्रिस वेल्चलाई थ्रेड्समा दिएको जवाफमा मोसेरीले मेटाले यो एपमा ‘महिनादेखि’ काम गरिरहेको बताएका छन् । उनले भर्जलाई भने, “क्यापकट भन्दा धेरै फरक हुनेछ । एडिट्समा रचनात्मक टुलको धेरै फराकिलो दायरा हुनेछ र सम्भवतः सानो लक्षित दर्शक हुनेछन् ।”
मोसेरीले आफ्नो भिडिओमा धेरै कुरा बताएका छैनन् । उनले भिडिओ राखेको केही समयमा बाइटडान्सका एपहरू निर्वाध रूपमा चल्न थालिसकेका छन् । अझै पनि अमेरिकामा बाइटडान्सका विभिन्न प्लेटफर्मको भविष्य स्पष्ट भइसकेको छैन ।
इन्स्टाग्रामले टिकटककै कपी गर्दै यसअघि तीन मिनेटसम्मको रिल्स अपलोड गर्न सकिने फिचरको घोषणा गरेको थियो । त्यस्तै टिकटकको जस्तै फोटो ग्रिडको फिचर पनि ल्याउने तयारी गरिएको छ । इन्स्टाको रिल फिचर पूर्ण रूपमा टिकटकबाटै प्रभावित भएर ल्याइएको हो । एडिट्स १३ मार्च २०२५ देखि उपलब्ध हुनेछ ।