काठमाडौं । डिजिटल शिक्षा र प्रतिभा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चिनियाँ दूतावासले गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षा सुरुवात गरेको छ । ह्वावेको शैक्षिक प्रविधि प्रयोग भएको कक्षा गत आइतबार लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालयमा उद्घाटन गरिएको हो ।
ह्वावेले परियोजनामा प्रमुख साझेदारको भूमिका निर्वाह गर्दै ह्वावे आइडिया हब (इन्टरएक्टिभ ह्वाइटबोर्ड), ल्यापटप, डेस्कटप, वाई-फाई पूर्वाधार र अनलाइन सिकाइ प्लेटफर्म जस्ता उपकरण तथा समाधान उपलब्ध गराएको छ । यो पहलले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच पुर्याएर विश्वव्यापी प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।
उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो परियोजनाले ग्रामीण नेपालमा डिजिटल खाडल कम गर्दै शैक्षिक अवसरहरू वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले चिनियाँ दूतावास, ह्वावे नेपाल र मन्त्रालयबिचको सहकार्यको प्रशंसा गर्दै यसले विद्यार्थीलाई डिजिटल युगमा प्रतिस्पर्धा गर्न आवश्यक सीप प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि चीनका राजदूत चेन सोङले भिडिओ सन्देशमार्फत यो परियोजना चीन-नेपाल सहयोग र डिजिटल शिक्षामा गरिएको प्रतिबद्धताको प्रमाण भएको बताए । त्यस्तै, ह्वावे नेपालका प्रमुख प्राविधिक अधिकृत लि सियाओवेईले प्रविधिको माध्यमबाट ग्रामीण क्षेत्रमा आधुनिक शिक्षा प्रणालीको पहुँच पुर्याउन ह्वावे कटिबद्ध रहेको बताए ।
डिजिटल नेपाल फ्रेमवर्कलाई सुदृढ पार्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाले ग्रामीण विद्यार्थीलाई गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच पुर्याउन मद्दत गर्ने विश्वास गरिएको छ ।