close

राइडरले महिला यात्रुमाथि गरेको दुर्व्यवहार घटनामा के भन्छ इन्ड्राइभ ?

टेकपाना टेकपाना

माघ १२, २०८१ १९:७

राइडरले महिला यात्रुमाथि गरेको दुर्व्यवहार घटनामा के भन्छ इन्ड्राइभ ?

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले आफ्ना सेवाग्राहीमाथि हुने कुनै पनि आपत्तिजनक वा गैरकानुनी गतिविधि कडा रूपमा अस्वीकार गर्ने बताएको छ । एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टलीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यप्रति शून्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिको कडा निन्दा गर्ने स्पष्ट पारेका छन् ।

कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टिलाई सधैं उच्च प्राथमिकतामा राखेको र विशेषगरी महिलाहरूको सुरक्षामा ध्यान दिइरहेको जनाएको छ । ​हालै महिला सेवाग्राहीले भोगेको घटनाप्रति दुःख व्यक्त गर्दै इनड्राइभले पीडित सेवाग्राहीसँग क्षमा मागेको छ । कम्पनीले आफूलाई जिम्मेवार सेवाप्रदायकका रूपमा प्रस्तुत गर्दै सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको पनि बताएको छ ।

“हामी हाम्रा सेवाग्राहीको विश्वासलाई उच्च महत्व दिन्छौं र सेवालाई निरन्तर सुधार गर्न प्रतिबद्ध छौं,” विज्ञप्तिमा उल्लेख छ । इनड्राइभले आफ्नो प्लेटफर्म प्रयोग गर्ने यात्रु र चालकहरूको सुरक्षाका लागि विभिन्न विशेषताहरू उपलब्ध गराएको पनि जानकारी दिएको छ ।

कम्पनीका सुरक्षा सुविधाहरूमा ‘सेफ्टी बटन’ प्रमुख रहेको छ, जसले प्रयोगकर्तालाई तत्काल सहायता प्राप्त गर्न सपोर्ट टिम, प्रहरी वा एम्बुलेन्ससँग सम्पर्क गर्न सक्षम बनाउँछ । ‘शेयर योर राइड’ फिचरले यात्रुहरूलाई आफ्नो यात्रा विवरण साथीभाइ वा परिवारसँग साझा गर्न मद्दत गर्दछ । साथै, प्रत्येक यात्रापछि यात्रु र चालकको मूल्याङ्कन गर्ने प्रोत्साहनले सेवालाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।

घटनाको पृष्ठभूमि

२ माघमा चितवनबाट काठमाडौं फर्किने क्रममा एक महिलाले इनड्राइभमार्फत सिटी टु सिटी राइड बुक गरेकी थिइन् । बुकिङपछि चालकले सम्पर्क गरी मूल्य निर्धारण गरेका थिए । तर, चालकले ह्वाट्सएपमा मेसेज पठाउँदै "बाटोमा एक घण्टा बसौं, बरु म पैसा लिन्न" भन्दै अनुचित सम्बन्धको प्रस्ताव राखेका थिए ।

पीडित महिलाले भोलिपल्ट जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरी ८ माघमा चितवनका २५ वर्षीय प्रविण बराललाई नियन्त्रणमा लिएको थियो । अहिले आरोपी बरालमाथि अनुसन्धान जारी छ ।

इनड्राइभले घटनाप्रति गम्भीर ध्यान दिएको र सेवाग्राहीको सुरक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले यस्ता घटनाहरू रोक्नका लागि आगामी दिनमा थप कदम चाल्ने आश्वासन दिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १९:७