close

गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य

टेकपाना टेकपाना

माघ १४, २०८१ ११:५१

गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य

काठमाडौं । सन् २०२२ मा २२ वर्षकी भारतीय युवती ग्रीष्माले आफ्नो प्रेमी शेरोन राजको हत्या गर्ने योजना बनाइन् । उक्त योजना सफल बनाउन उनले इन्टरनेटको सहायता लिइन् । त्यसका लागि उनले पारासिटामोल र झार मार्ने विषादी पाराकटलाई कसरी बिस्तारै असर गर्ने विषको रूपमा प्रयोग गर्न सकिन्छ भनेर गुगलमा धेरै खोजिन् । 

तर, उनले कहिल्यै पनि डिजिटल संसारमा आफ्नो फुटप्रिन्ट (पदचिह्न) छोडेर जाँदैछु भन्ने कल्पना गरिनन् । ग्रीष्माको त्यही डिजिटल पदचिह्न उनलाई प्रेमीको हत्यारा साबित गर्ने सबैभन्दा ठुलो प्रमाण बनिदियो । 

भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार न्यायाधीश एएम बसिरले ग्रीष्मालाई मृत्युदण्डको सजाय सुनाउँदै यही विषयलाई औँल्याएका छन् । उनले भनेका छन्, “बादलमा रहेको भगवान (गुगल क्लाउड) ले अपराधको विवरण सुरक्षित राख्नु भयो । अब अपराधीले अपराध गरेर कुनै प्रमाण नछोडिकन भाग्न सक्दैन ।”

२० जनवरीमा ग्रीष्मालाई आयुर्वेदिक मिश्रणमा झार मार्ने विषादी मिसाएर शेरोनको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । शेरोनको २५ अक्टोबर २०२२ मा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । औषधी खाएको ११ दिनपछि उनको मृत्यु भएको थियो ।

यो घटना शेरोनको हत्या गर्ने ग्रीष्माको दोस्रो प्रयास थियो । पहिलो प्रयासमा उनले जुसमा ५० ओटा दुखाई कम गर्ने औषधि मिसाएकी थिइन् । तर, शेरोनले तीतो भएकाले उक्त जुस पिउन नमानेपछि उनको पहिलो प्रयास असफल भयो । अदालतले ग्रीष्माकी आमा सिन्धुलाई भने सफाइ दिएको छ । तर उनका काका निर्मलकुमारन नायरलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीहरू दुवै जनालाई अपराधपछि प्रमाण नष्ट गरेको आरोप लगाइएको थियो ।

अदालतले फैसला सुनाउँदै भनेको छ, “शेरोनले ११ दिनसम्म पानी नपिएर जीवनको लागि सङ्घर्ष गरे ।” परिवारले अब अदालतको फैसला विरुद्ध अपिल गर्ने योजना बनाएको छ । अनुसन्धानकर्ताका लागि यो मुद्दा निकै चुनौतीपूर्ण थियो, किनभने यसमा हत्याको प्रत्यक्षदर्शी कोही पनि थिएनन् । 

त्यसमा पनि ग्रीष्माले फोन फ्याक्ट्री रिसेट गरेर सबै प्रमाण मेटाउने प्रयास गरेकी थिइन् । त्यसैले अनुसन्धानकर्ताले डिजिटल प्रमाण स्वरूप गुगल क्लाउडबाट प्राप्त डेटा, शेरोन र ग्रीष्माको मोबाइलको लोकेसन, उनीहरूको कल रेकर्ड र ह्वाट्सएप च्याट, सीसीटीभी फुटेज र भिडिओ कलका साथै फरेन्सिक रिपोर्टको आधारमा अपराधको दृश्य तयार पारे । यसरी अदालतले यो घटनालाई ‘भयानक’ हत्याको संज्ञा दियो । 

यसरी भयो प्रेम कहानीको दुखान्त

भारतको तमिलनाडुको कन्याकुमारी जिल्लाको देवियोडु गाउँकी ग्रीष्मा र तमिलनाडु-केरल सीमामा रहेको पारास्सलाका शेरोनको भेट सन् २०२१ मा कलेज जाँदै गर्दा बसमा भएको थियो । अदालतका कागजात अनुसार उनीहरूबिच त्यही बेलादेखि नै प्रेम सम्बन्ध सुरु भएको थियो । 

तर लामो समयसम्म दुवै परिवारलाई यसबारे थाहा थिएन । ग्रीष्माको परिवारले मार्च २०२२ मा उनको विवाह एक सैनिकसँग तय गरिदियो । त्यसपछि पनि शेरोनसँग भेटिरहेकी ग्रीष्माले आफ्ना आमाबुबाले रोजेको केटासँग नै विवाह गर्नु फाइदाजनक देखिन् ।

सन् २०२२ मा अनुसन्धानको नेतृत्व गरेका र हाल कासरगोडका प्रहरी उपरीक्षक रहेका केजे जोन्सनले भारतीय सञ्चार माध्यलाई भनेका छन्, “ग्रीष्मा शेरोनबाट टाढा हुन चाहन्थिन् । किनभने उनीसँग जागिर थिएन । साथै दुवै जना फरक समुदायका थिए । ग्रीष्मा उच्च जातकी हिन्दु नायर थिइन् भने शेरोन कथित पिछडिएको क्रिश्चियन नाडर समुदायका थिए ।”

उनले अगाडि भनेका छन्, “ग्रीष्माले शेरोनलाई आफूबाट टाढा बनाउन अनेक प्रयास गरिन् । उनले शेरोनलाई कुण्डलीमा उनको पहिलो श्रीमानको मृत्यु हुने लेखिएको समेत बताएकी थिइन् । तर शेरोनले उनको कुनै पनि कुरा विश्वास गरेनन् ।”

प्रहरीका अनुसार ग्रीष्मालाई आफ्नो बिहे भइसकेपछि शेरोनले उनीहरू बीचको निजी पलको भिडिओ र तस्विर  सार्वजनिक गरेर वैवाहिक जीवन तहसनहस बनाइदिन्छन् कि भन्ने डर थियो । केही गर्दा पनि शेरोन टाढिन नमानेपछि उनले हत्या गर्ने योजना बनाइन् । 

गत अगस्टमा ग्रीष्माले पारासिटामोलको विषको बारेमा गुगलमा धेरै सर्च गरेकी थिइन् । त्यसपछि उनले शेरोनलाई कन्याकुमारीको नेयुरमा रहेको आफ्नो कलेजमा भेट्न बोलाइन् । प्रहरीका अनुसार त्यहाँ उनले गोप्य रूपमा जुसको बोतलमा ५० ओटा पारासिटामोल ट्याब्लेट मिसाएर शेरोनलाई जुस पिउन ‘च्यालेन्ज’ दिएकी थिइन् । तर शेरोनले तीतो भएकाले जुस पिउन नसकेपछि च्यालेन्ज हारे । त्यही बेला उनीहरूले जुस पिउने च्यालेन्जको भिडिओ बनाएका थिए । उक्त भिडिओ शेरोनको मृत्युपछि सार्वजनिक भएको थियो ।

अदालतका कागजात अनुसार १३ अक्टोबर २०२२ को राति ग्रीष्माले शेरोनसँग एक घण्टा कुराकानी गरेकी थिइन् । उनले शेरोनलाई लोभ्याउने प्रयास गर्दै भोलिपल्ट आफ्नो घरमा आउन आग्रह गरिन् । भोलिपल्ट शेरोन आफ्नो साथी आरएस रेजिनसँग ग्रीष्माको घर गए । रेजिन पछि मुद्दाको साक्षी बनेका थिए ।

त्यति बेलासम्म ग्रीष्माले पाराकटको बारेमा पनि धेरै सर्च गरिसकेकी थिइन् । पाराकट एक विषाक्त रसायन हो, जुन झार मार्न प्रयोग गरिन्छ र यसलाई ‘मन्द विष’ पनि भनिन्छ । उनले आफ्ना काका निर्मलकुमारन नायरले घरमा राखेको ‘कापिक हर्बिसाइड’ नामक पाराकट भएको विषालु रसायन लिएर आयुर्वेदिक काढामा मिसाइन् र शेरोनलाई पिउन दिइन् ।

काढाको तीतोपन कम गर्न उनले शेरोनलाई जुस पनि दिइन् । अदालतले भनेको छ, “एक हातले जडिबुटी मिसाएको आयुर्वेदिक पेय तयार पार्दै थिइन् भने अर्को हातले उनी शेरोनलाई प्रेमिल मेसेज पठाइरहेकी थिइन् ।” शेरोनले उक्त पेय पदार्थ पिएपछि घर गए । तर, घर पुग्नासाथ उनी वान्ता गर्न थाले । तत्कालै शेरोनको परिवारले उनलाई स्थानीय अस्पतालमा उपचारका लग्यो । स्थानीय अस्पतातमा शेरोनलाई पीडा सहन सकस परेपछि उनलाई थिरुवनन्तपुरमको सरकारी मेडिकल कलेज पुर्‍याइयो ।

अनुसन्धानकर्ताका अनुसार ग्रीष्माले शेरोनलाई उनी घर पुगिसकेपछि आफूलाई पनि वान्ता भएको मेसेज पठाएकी थिइन् । उनीहरूका अनुसार यो शेरोनलाई तुरुन्तै उपचार गर्नबाट रोक्ने प्रयास थियो । जोन्सनले भने, “शेरोनले काढा पिएपछि ग्रीष्मा र शेरोनबिच धेरै कुराकानी भएको थियो । उनको प्रयास सफल हुन्छ कि हुन्न भनेर जान्न ग्रीष्मा निकै उत्सुक थिइन् ।”

मेडिकल कलेज अस्पतालमा डाक्टरहरू शेरोनको रोगको कारण पत्ता लगाउन सफल भएका थिएनन् । किनभने एकाएक उनका दुवै मिर्गौलाले काम गर्न छोडेका थिए । पाराकटले कुनै अवशेष नछोड्ने भएकोले उनको रगतमा विष भेटिएन र खानामा विषाक्तताको कुनै लक्षण पनि देखिएन । मिर्गौला फेल भएपछि रगत सफा गर्न प्रयोग गरिने डायलायसिस प्रक्रियाले पनि कुनै काम गरेन ।

मेडिकल रिपोर्टका अनुसार पाराकटको विषले फोक्सो फेल गराउन सक्छ, अन्ननलीमा प्वाल पार्न सक्छ, छातीमा सङ्क्रमण र मिर्गौला फेल गराउन सक्छ । शव परीक्षण गर्ने फरेन्सिक सर्जनले मृत्युको कारण फोक्सोमा गम्भीर चोट भएको बताएको थियो, जुन पाराकटको विषको मुख्य लक्षण हो ।

गत हप्ताको फैसलामा अदालतले शेरोनको स्वास्थ्य अवस्था गुगलमा गरिएको सर्चमा देखिएको जस्तै भएको बताएको छ । अदालतले भनेको छ, “शव परीक्षण रिपोर्टमा उल्लेख भएअनुसार पिसाब फेर्ने ठाउँबाट रगत बगेको थियो, जुन क्रूरताको प्रमाण हो । विषका कारण पीडितले ओठदेखि मलद्वारसम्म असह्य पीडा भोग्नुपरेको थियो ।”

यस मुद्दाको पहिलो सुराग शेरोनका दाइ शिमन राजबाट प्राप्त भएको थियो । शिमन एक आयुर्वेदिक डाक्टर हुन् र उनलाई आफ्नो भाइ र ग्रीष्माको सम्बन्धको बारेमा थाहा थियो । शेरोनले ग्रीष्माको घरमा जुस खाएको थाहा पाएपछि उनले त्यसमा प्रयोग भएका सामग्रीहरूको बारेमा सोधेका थिए । उनी भन्छन्, “उनले आफूलाई थाहा नभएको झुटो कुरा गरिन् र मलाई बहकाउन खोजिन् । उनले एक डाक्टरले त्यो औषधी लेखेको बताएकी थिइन्, जुन झूटो साबित भयो । उनले औषधीको नाम बताउन मानिनन् र आफूले पनि ढाड दुखेको बेला त्यही औषधी प्रयोग गर्ने गरेको बताइन् । मैले सबै कुराकानी रेकर्ड गरेर प्रहरीलाई बुझाएको थिएँ ।”

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ ११:५१