काठमाडौँ । उत्तर कोरियाबाट बाहिर तस्करी गरिएको एक मोबाइल फोनले किम जोङ उन शासनले आफ्ना नागरिकहरूमाथि कत्तिको गहिरो निगरानी र नियन्त्रण राखेको छ भन्नेबारे खुलासा गरेको छ । बीबीसीको एक अनुसन्धानअनुसार उत्तर कोरियाका स्मार्टफोनहरू कन्टेन्ट सेन्सर गर्न, दक्षिण कोरियाली भाषालाई रोक्न र प्रयोगकर्ताहरूलाई उनीहरूको जानकारी बिना नै रियलटाइम (तत्कालै) जासुसी गर्न प्रोग्राम गरिएका हुन्छन् ।
यद्यपि यी फोनहरू बाहिरी रूपमा आधुनिक स्मार्टफोन जस्तै देखिन्छन् । यिनको सफ्टवेयरले अझ दमनकारी यथार्थलाई उजागर गरेको छ । फोनमा उत्तर कोरियाली झण्डा स्क्रिनमा लहराएको एनिमेसनका साथ अन भएको देखाइएको हुन्छ र यसको डिजाइन तथा युजर इन्टरफेस ह्वावे र अनरका मोबाइल डिभाइससँग मिल्दोजुल्दो पाइएको थियो ।
यस्ता कम्पनीहरूले उत्तर कोरियामा आधिकारिक रूपमा फोन विक्री गरे पनि ती फोनहरू राज्य-अनुमोदित सफ्टवेयरका साथ कस्टमाइज गरिएका हुन्छन् । जसले कार्यक्षमता सीमित पार्ने र सरकारी निगरानीलाई सहज बनाउने काम गर्छ ।
उत्तर कोरियाली स्मार्टफोनहरूमा सेन्सरशिप प्रणाली सिधै एकीकृत गरिएको हुन्छ । बीबीसीले जाँच गरेको फोनमा दक्षिण कोरियाली सामान्य शब्दहरूलाई उत्तर कोरियाली शासनको विचारधारामा मेल खाने हुने गरी स्वतः सच्याइने गरेको पाइएको थियो । उदाहरणका लागि 'दक्षिण कोरिया' (South Korea) टाइप गर्दा तुरुन्तै 'कठपुतली राज्य' (Puppet State) मा परिवर्तन हुन्छ । जुन दक्षिण कोरियालाई अमेरिका नियन्त्रित चौकीको रूपमा चित्रण गर्न किमजोङ उनको सत्ताले प्रयोग गर्ने शब्दावली हो ।
त्यसैगरी, दक्षिण कोरियामा वयस्क पुरुष साथी वा प्रेमीलाई जनाउन प्रयोग गरिने शब्द 'उप्पा' (Oppa) उत्तर कोरियाली फोनमा अटोकरेक्ट भएर 'कमरेड' (Comrade) मा परिवर्तन हुन्छ र वार्निङ दिइन्छ, "यो शब्द केवल दाजुभाइ दिदीबहिनीहरूलाई जनाउन मात्र प्रयोग गर्न सकिन्छ ।"
अझ चिन्ताजनक विषय भनेको फोनले प्रयोगकर्तालाई थाहै नहुने गरी हरेक पाँच मिनेटमा स्वचालित तवरमा स्क्रिनसट लिने क्षमता हो । यी इमेज फाइलहरू हिडन फोल्डरको रूपमा प्रयोगकर्ताबाट लुकाइएका हुन्छन्, जसमा सरकारी कर्मचारीहरूले मात्र पहुँच गर्न सक्छन् । यसले उनीहरूलाई नागरिकको व्यवहार निगरानी गर्न र प्रतिबन्धित सामग्री उपभोग गर्नेहरूलाई दण्डित गर्न शक्तिशाली जासुसी उपकरण प्रदान गर्दछ । यस किसिमको प्रणालीले अधिकारीहरूलाई व्यक्तिको विस्तृत डिजिटल प्रोफाइल बनाउन सक्षम बनाउँछ ।
उत्तर कोरियाका फोनहरूमा विश्वव्यापी इन्टरनेटको पहुँच हुँदैन । त्यहाँका आम जनतालाई इन्टरनेट पूर्ण रूपमा निषेध गरिएको छ । बाँकी नागरिकले केवल 'क्वाङ्गम्योङ्ग' (Kwangmyong) नामक नियन्त्रित इन्टरनेट सेवा मात्र प्रयोग गर्न सक्छन् । यो देशभित्र मात्र सीमित इन्टरनेट सेवा भएकाले त्यसमा भीपीएनले काम गर्न सक्दैन । सरकारी अधिकारीहरू, अनुसन्धानकर्ताहरू र धनीमानी पढ्ने विश्वविद्यालयका विद्यार्थीसहित केही सीमित जनसङ्ख्याले मात्र विश्वको इन्टरनेट सञ्जालमा पहुँच पाउन सक्छन् ।
रेडियो, टेलिभिजन, स्मार्टफोन जस्ता उपकरणहरूमा सरकार-अनुमोदित सामग्री मात्र प्राप्त गर्न प्रि-कन्फिगर गरिएका हुन्छन् । यी सेटिङहरूमा छेडछाड गर्नु वा विदेशी मिडिया पहुँच गर्ने प्रयास गर्नु गम्भीर अपराध मानिन्छ । फोनहरू हार्डवेयर परिवर्तन गर्न नसकिने गरी सिल गरिएका हुन्छन् ।
यतिसम्म कि यदि तपाईँले उत्तर कोरियाली सर्भरमा भीपीएन फेला पारिहाल्नु भयो भने पनि त्यसमा कनेक्ट भएर तपाईँले कुनै फाइदा लिन सक्नु हुन्न । अधिकांश सामाजिक सञ्जाल वेबसाइट र न्युज साइटहरूमाथि प्रतिबन्ध लगाइएको छ । यसको अर्थ यदि तपाईँले उत्तर कोरियाली आईपी एड्रेस प्रयोग गर्ने निर्णय लिनु भयो भने तपाईँले फेसबुक, युट्युब, ट्वीटर र अन्तर्राष्ट्रिय समाचार साइटहरू हेर्न पाउनु हुन्न ।
सरकारले सञ्चालन गरेका अधिकांश वेबसाइटहरू एकदमै सुस्त किसिमले लोड हुने गर्दछन् र त्यस मध्ये केही मात्र नियमित रूपमा अपडेट हुन्छन् । त्यहाँका समाचार साइटहरूमा उत्तर कोरियाको निरङ्कुश साशन सत्ता र सर्वोच्च नेताको महिमागान गाउने किसिमका हुन्छन् ।
त्यहाँका सरकारी अधिकारीहरूले नियमित रूपमा फोनहरूमा अपशब्द, कन्ट्याक्ट नेम वा विदेशी (विशेष गरी दक्षिण कोरियाली) संस्कृतिसँग सम्बन्धित मिडियाको निरीक्षण गर्छन् । के-पप र कोरियन ड्रामाहरू पूर्ण रूपमा प्रतिबन्धित छन् र दक्षिण कोरियाली सांस्कृतिक आयातहरूलाई सिस्टम विरोधी मानिन्छ ।
दक्षिण कोरियाली वाक्यांश वा उच्चारण प्रयोग गर्नु अपराध मानिन्छ, र दक्षिण कोरियाली जस्तै कपाल बनाउनु वा लुगा लगाउनु पनि अनुशासनात्मक कारबाहीको विषय बन्न सक्छ । यी नियमहरू लागु गर्नका लागि 'युथ क्र्याकडाउन स्क्वाड' (Youth Crackdown Squads) तैनाथ गरिएको छ । जसले युवाहरूका फोन नियमित रूपमा चेकजाँच गर्छन् ।
रिपोर्टमा उद्धृत गरिएको एक घटनामा, २२ वर्षीय युवकलाई दक्षिण कोरियाली सङ्गीत र चलचित्रहरू हेरेको र शेयर गरेको आरोपमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो ।
उत्तर कोरियामा फोन केवल एक सञ्चार उपकरण मात्र होइन, यो नियन्त्रणको एक साधन पनि हो । उत्तर कोरियालीहरूका लागि गोपनीयताको कुनै अस्तित्व छैन । टेकस्पोटका अनुसार यो फोन डेली एनके (Daily NK) नामक सिओल-आधारित सञ्चार माध्यमले उत्तर कोरियाबाट तस्करी गरेर बाहिर निकालेको थियो ।