काठमाडौं । अब भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले क्यूआर कोड प्रयोग गरेर आफैले स्वास्थ्य रिपोर्ट लिन सक्ने भएका छन् ।
अस्पतालले आजदेखि यो नयाँ सुविधा लागू गरेको हो । यसअन्तर्गत बिरामीलाई विभिन्न स्वास्थ्य जाँचको समय, नमुना सङ्कलन गर्दा क्यूआर कोड उपलब्ध गराइने छ । रिपोर्ट प्राप्त गर्न ल्याब रिड भेन्डिङ मेसिन प्रयोग गरिएको अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले जानकारी दिए ।
रिपोर्ट आउने समय भएपछि आफैले मेसिनमा क्यूआर कोर्ड इन्सर्ट गरेर रिपोर्ट प्रिन्ट गर्न सकिने उनले बताए । एक मिनेटमा तीन ओटासम्म रिपोर्ट प्रिन्ट गर्न सकिनेछ ।
भरतपुर अस्पतालमा सात लाख रुपैयाँको लागतमा उक्त मेसिन जडान गरिएको छ । यस अस्पतालमा दैनिक २,००० भन्दा बढीले ओपीडी सेवा लिन्छन् । क्यूआर कोडमार्फत रिपोर्ट लिने सुविधाले ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको बस्यालले बताए ।