काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । अनलाइन ठगीसँगै नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई सीआईबीले शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा माइकल डंगौरा (मास्टर एजेन्ट), अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यम कुमार सहनी, रोशन कुमार र मुन्ना कुमार रहेका छन् । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक हुन् भने बाँकी पाँच जना नेपाली हुन् । ठगी कार्यमा संलग्न भएको आरोप लागेका नेपाली युवाहरूको उमेर २७ वर्ष रहेको छ ।
विभिन्न समयमा उनीहरूले तीन अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट सुपर कम्प्युटर सीपीयू दुई थान, विभिन्न ब्राण्डका १३ थान मोबाइल, विभिन्न बैंकका चेक १९ थान र पाँच लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ ।
अनुसन्धानका क्रममा उनीहरूले विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी ठगी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको खुलेको छ । उनीहरूले बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरूलाई झुक्याएर ओटीपी/पिन मागी रकम ठगी गर्ने गरेको पाइएको सीआईबीले जनाएको छ । साथै, उनीहरूले सामाजिक सञ्जालमा अनलाइन जागिर, घरमै बसेर धेरै पैसा कमाउन सकिने जस्ता विज्ञापन राखेर साइबर फिसिङमार्फत प्रयोगकर्ताको बैंक खातामा पहुँच पुर्याई रकम ट्रान्सफर गर्ने गरेको सीआईबीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उनीहरूले ठगी गरेको रकम क्रिप्टोकरेन्सी र गेम प्वाइन्ट किन्न प्रयोग गर्ने गरेको पाइएको छ । विदेशमा रहेका नेपालीहरूलाई गैरकानुनी माध्यमबाट पैसा पठाउन प्रोत्साहन गरी ठगी गरेको रकम क्रिप्टोकरेन्सीमार्फत नेपाल भित्र्याउने गरेको देखिएको छ ।
सीआईबीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले समानान्तर बैंकिङ कारोबार गरी मानिसहरूलाई क्रिप्टोकरेन्सी, गेम प्वाइन्ट र भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ । उनीले ठगी गरेको रकम विभिन्न व्यक्तिको बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेको प्रहरीले अनुसन्धानबाट फेला पारेको छ ।
साथै, उनीहरूले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर बैंक खाता खोल्न लगाई त्यसलाई प्रयोग गर्ने गरेको पनि देखिएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।