close

‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुन दिन्नौं’- महामन्त्री शर्मा

टेकपाना टेकपाना

माघ १८, २०८१ १९:२७

‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुन दिन्नौं’- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुन नदिने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले विधेयक संसद्मा दर्ता हुँदैमा पास भइहाल्छ भन्ने नभएको भन्दै त्यसलाई परिमार्जन गरेर मात्र पास हुने बताए ।

“सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाललाई नियमन गर्न ल्याएको विधेयक जस्ताको तस्तै पास हुँदैन । जस्ताको तस्तै पास हुन हामी दिन्नौं,” उनले भने, “यसलाई संशोधन प्रक्रियाबाट, संवादबाट, परिपक्व ढंगले, सरोकारवाला, मिडियाकर्मी र दलबीच छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ ।”

प्रेस काउन्सिलले हेर्न मिल्ने कतिपय विषय फौजदारी कानुन अन्तर्गत हेर्नेगरी आएकोमा उनले असन्तुष्टि प्रकट गरे । उनले भने, “अध्यादेश हो, त्यसैले पूरै गलत हुन्छ अनि विधेयक हो, त्यसैले पूरै सही हुन्छ भन्ने मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।”

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने हिसाबले आएको विधेयकलाई नेपाली कांग्रेसले संसद्मा ‍नसघाउने उनले प्रष्ट पारे ।

विधेयकले गुमनाम भएर सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्तामा अङ्कुश लगाउने काम गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यसैलाई चर्चा गर्दै महामन्त्री शर्माले भने, “कसैले परिचय लुकाएर चलाएको छ, तर उसले परिपक्व ढंगले कसैलाई एक्सटोर्सन, सेक्सटोर्सन, गडबडी वा अनर्गल आरोप लगाएको छैन भने, आपत्ति के भयो ?”

तर कसैले परिचय खुलाएर पनि सामाजिक सञ्जाल दुरुपयोग गरिरहेको छ भने उसलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । उनले भने, “त्यसकारण प्रश्न के हो भने, कानुन उल्लङ्घन गरिरहेको छ कि छैन ? मर्यादा उल्लङ्घन गरिरहेको छ कि छैन ? सरकारले हेर्ने त त्यही हो । ‘तिम्रो आईडीमा परिचय खुलेन’ भन्दै सरकारलाई त्यत्रो फुर्सद किन चाहियो ? सरकारलाई फुर्सद चाहिंदैन ।”

पछिल्लो अध्यावधिक: माघ १८, २०८१ १९:२७