close

अधिकांश सेवाप्रदायकको इन्टरनेटमा समस्या, के होला कारण ?

टेकपाना टेकपाना

माघ २०, २०८१ २१:४५

अधिकांश सेवाप्रदायकको इन्टरनेटमा समस्या, के होला कारण ?

काठमाडौं । नेपालमा अधिकांश कम्पनीको इन्टरनेट सेवामा समस्या देखिएको छ ।

आइतबार राति करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् ।

समस्याको यकिन कारण स्पष्ट नभइसकेको भए पनि अपस्ट्रिम प्रदायक (नेपालमा इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने भारतीय कम्पनी) को तहबाटै ब्यान्डविथ आपूर्तिमा कमी आएको बुझिएको छ । एक इन्टरनेट सेवाप्रदायक कम्पनीका प्राविधिकका अनुसार देशमा आपूर्ति भइरहेको करिब आधा ब्यान्डविथ गुमेको छ ।

यसैबीच, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास खड्काले भारतीय अपस्ट्रिम प्रदायक एयरटेलबाट आउने ब्यान्डविथ पूर्ण रूपमा रोकिएको जानकारी दिएका छन् । "एयरटेल पूर्ण रूपमा डाउन छ । प्राविधिक समस्या देखिएर हो वा ब्यान्डविथ रोकिएको हो, स्पष्ट भइसकेको छैन," उनले भने । 

नेपालको इन्टरनेट बजारको ७० प्रतिशत बढी हिस्सा एयरटेलबाट लिएको ब्यान्डविथले ओगटेको छ ।  नेपालका नेटवर्क सेवाप्रदायकले लामो समयदेखि ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नपाएकाले औपचारिक रूपमा एयरटेलसँग यो समस्याबारे कुराकानी हुन नसकेको उनले बताए । 

नेपालमा प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको बुझिएको छ । यसले गर्दा नेटवर्कमा कन्जेसन बढेर सेवा प्रदायकहरूको सिस्टम नै पूर्ण रूपमा डाउन हुनसक्ने चिन्ता पैदा भएको छ ।

अपडेट: अधिकांश सेवाप्रदायकको इन्टरनेटमा देखिएको समस्या समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ ९:४०