काठमाडौं । ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा आजदेखि फिल्म ‘पँखेटा’को स्ट्रिमिङ सुरु भएको छ । गत वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘पिपुल्स च्वाइस’ अवार्ड जितेको यो फिल्म शुक्रबारदेखि दर्शक माझ आएको हो ।
कान्तिपुर सिनेमाजले पछिल्लो समय स्वतन्त्र (इन्डी) फिल्म र न्यून बजेटका फिल्मलाई प्राथमिकता दिइरहेको छ । सोही अनुरूप १ घण्टा ३६ मिनेटको ‘पँखेटा’लाई पनि यही प्लेटफर्मबाट रिलिज गरिएको हो ।
सनोल दासद्वारा लिखित तथा निर्देशित फिल्म ‘पँखेटा’ले सहरमा आफ्नो सपना पछ्याइरहेका युवाहरूको सङ्घर्ष, आकाङ्क्षा र यथार्थको कथा प्रस्तुत गर्दछ । फिल्ममा सम्राट भुजेल, रोसनी मगर, दीपेश गजुरेल, परिक्रीत विक्रम राणा लगायत कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरूको अभिनय रहेको छ । यो फिल्मले स्वदेश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहरूमा सहभागिता जनाइसकेको छ।
दर्शकहरूले कान्तिपुर सिनेमाजको मोबाइल एप डाउनलोड गरेर वा वेब ब्राउजरमा वा यहाँ क्लिक गरेर लगइन गरी यो फिल्म हेर्न सक्नेछन् । मासिक २९९ रुपैयाँको सदस्यता शुल्कमा दुई ओटासम्म डिभाइसमा यो प्लेटफर्ममा भएका सबै फिल्म र सिरिजहरू हेर्न सकिन्छ । कान्तिपुर ओटीटीमा नेपाली फिक्सन, मदर, मुखिया, ऋतु, खरानी लगायतका मौलिक फिल्महरू, ‘द नाइट डायरिज’, ‘मिस स्कार्लेट’, ‘ब्रह्माण्ड’, ‘एउटा सपनाको अवसान’ लगायतका सिरिज तथा ‘घरज्वाइँ’, ‘जुलेवी’, ‘म’, ‘नाङ्गो गाउँ’, ‘दान्वी’, ‘ज्याकी आई एम ट्वान्टीवन’ लगायत ३० भन्दा बढी फिल्महरू स्ट्रिमिङ भइसकेका छन्।
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कान्तिपुर सिनेमाज ओटीटीको सुरुवात भएको थियो। हाल यो फिल्म निर्माताहरूका लागि फिल्म रिलिज गर्ने एउटा राम्रो डिजिटल प्लेटफर्म बन्दै गइरहेको छ । कान्तिपुर सिनेमाजलाई कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको हो ।