close

ब्रेकअप भएको बेला रेडिटमा अपरिचित व्यक्तिको सहयोग लिँदा साइबर क्राइममा यसरी फसे युवक

टेकपाना टेकपाना

माघ २५, २०८१ १९:५७

ब्रेकअप भएको बेला रेडिटमा अपरिचित व्यक्तिको सहयोग लिँदा साइबर क्राइममा यसरी फसे युवक

काठमाडौं । अविनाश प्रधान र रेश्मा शर्मा (नाम परिवर्तन) पहिलो पटक सामाजिक सञ्जाल स्न्यापच्याटबाट नजिकिए । कुराकानी हुँदै जाँदा उनीहरू प्रेम सम्बन्धमा बाँधिए । सुरुमा त सब ठिकठाक चलीरहेको थियो । तर समय बित्दै जाँदा उनीहरूबिच स-साना कुरामा झगडा हुन थाल्यो । 

अविनाश रेश्मालाई धेरै माया गर्ने भएकाले जति झगडा भए पनि सम्बन्ध सुधारौँ भन्ने चाहन्थे । तर, सम्बन्ध गाँसिएको लगभग एक वर्षपछि एक दिन रेश्माले अब नबोल्ने भन्दै सम्बन्ध त्यहीँ अन्त्य गर्ने निर्णय लिइन् र, ब्रेकअप दिइन् । सम्बन्धलाई त्यहीँ बिट मार्ने सहमति भयो । अब दुवै आआफ्नो बाटो लाग्ने निर्णयमा पुगे । अनि बोलचाल पनि बन्द भयो । तर, यता अविनाशलाई यो कुराले निकै पिरोल्न थालिरहेको थियो ।

ब्रेकअपपछि मन बहकाउन अविनाश रेडिट चलाउन थाले । त्यहाँ उनी एक अपरिचित व्यक्तिसँग कुराकानी गर्न थाले । हुन त रेडिट अपरिचित व्यक्तिले एक आपसमा कुराकानी गर्न, सूचना दिन वा सम्बन्ध विस्तार गर्न प्रयोग गर्ने प्लेटफर्म हो । यसमा वास्तविक नाम राखिरहनु पर्छ भन्ने हुँदैन । 

अपरिचित व्यक्तिसँग कुरा गर्दै जाने क्रममा अविनाशले ती व्यक्तिलाई रेश्मासँगको प्रेम सम्बन्धको बारेमा सुनाए । ती अपरिचित व्यक्तिले पनि रेश्मालाई चिन्ने बताए । तर, कसरी चिनेका हुन् भन्ने कहिल्यै खुलाएनन् अथवा भनौँ खुलाउन चाहेनन् । कुराकानीकै क्रममा ती अपरिचित व्यक्तिले अविनाशलाई मुभ अन (प्रेम सम्बन्धबाट टाढिने) हुने थुप्रै सुझाव दिए । तर, कता कता उनले बदलाको भाव देखेपछि अविनाशलाई बदला लिन सकिने सुझाव दिए । 

त्यसका लागि पहिले रेडिटमा भेटिएका व्यक्तिले रेश्माको फोटो मागे । त्यसलाई एआई मार्फत अश्लील महिलाको शरीरमा रेश्माको टाउको जोडेर फोटो तयार पारिदिए । त्यसपछि उक्त तस्विर ती अपरिचित व्यक्तिले अविनाशलाई पठाइ दिए । 

अविनाशले ती व्यक्तिलाई उनको परिचय खुलाउन भने । तर, ती व्यक्तिले खुलाएनन् । खासै सम्बन्धित नभएकाले अविनाशले पनि ती व्यक्तिको परिचय पाउन खासै जोड गरेनन् । यता उनको रेडिट आईडीमा उनकी पूर्व प्रेमिकाको अश्लील फोटो आइसकेको थियो, त्यो पनि एआईले बनाएको । त्यसैको आडमा रेश्मासँग बदला लिने उनको चाहना बढ्दै गयो । तर, ठ्याक्कै यसरी बदला लिन्छु भन्ने उनले सोचिसकेका थिएनन् । 

अविनाशले रेडिटको मेसेजबाट उक्त फोटो डाउनलोड गरी आफ्नो मोबाइलमा राखे । रेश्मालाई प्रेम गरिरहने भएकाले होला अविनाश ती रेडिटमा भेटिएका व्यक्तिले त्यस्तो फोटो किन बनाइदिए होलान् भन्ने कुरा सुनाउन चाहन्थे । तर उनीहरूबिच बोलचाल बन्द भइसकेको थियो । केही दिनपछि अविनाशले फेसबुकमा 'सन्दीप पो' नामक नक्कली आईडी बनाए र रेश्माको फेसबुकमा 'ओइ भा*, र**डी' जस्ता अपमानजनक मेसेज पठाए । यति मात्र नभई उनले इन्स्टाग्राममा 'एनोनिमस' भन्ने नाम राखेर अर्को नक्कली आईडी बनाए र रेडिटमा पाएको रेश्माको नग्न तस्विर उनलाई पठाए ।

यता 'सन्दीप पो' नामक फेसबुक आईडी र 'एनोनिमस' नामक इन्स्टाग्राम आईडीबाट आफूलाई अपमानजनक मेसेज र नग्न तस्विरहरू आएपछि रेश्मा आत्तिन् । उनले यो सबै आफ्ना पूर्व प्रेमिले गरेको लख काटिन् र, प्रहरीमा उजुरी दिइन् । 

२० माघमा काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको अभियोगपत्र अनुसार अनुसन्धानबाट अविनाशको संलग्नता रहेको पत्ता लागेको छ । अविनाशले प्रहरीसँगको बयानका क्रममा रिसको आवेगमा यस्तो गरेको बताएका छन् । रेश्माले छोडेको कारणले उनको चित्त दुखेको र त्यसैको आडमा गल्ती गरेको उनको भनाइ छ । 

तर, उनले रेश्माको नग्न तस्विर रेश्मा बाहेक कसैलाई पनि नपठाएको दाबी गरेका छन् । प्रहरीले पक्राउ गरेपछि उनले आफू कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।  उनले रेडिटमा चिनेको व्यक्तिले आफूलाई उक्साएको र रिसको आवेगमा आएर यस्तो गरेको बताए । तर, अदालतले उनको कुरालाई पर्याप्त मानेको छैन ।

रेडिटमा चिनेको व्यक्ति रेश्माकै कलेजमा पढ्ने साथी हुन सक्ने उनको अनुमान छ, तर उनलाई त्यो व्यक्तिको आईडी थाहा छैन । अहिले त्यो रेडिट अकाउन्ट पनि गायब छ । 

रेश्माको तर्फबाट सरकारी वकिलको कार्यालयले अविनाशलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गर्न र क्षतिपूर्ति भराउन माग गरेको छ । कार्यालयले अविनाश प्रधानले विद्युतीय सञ्चार माध्यम प्रयोग गरी रेश्माको चरित्र हत्या गरेको जिकिर गरेको छ । उनले घृणा फैलाउने, हैरानी दिने र अपमान गर्ने मनसायले रेश्माको नग्न तस्विर बनाएर सामाजिक सञ्जालमा पठाएको पुष्टि भएको छ । यही प्रमाणका आधारमा अविनाशलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय र रेश्मालाई क्षतिपूर्ति भराउन माग गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ १९:५७