काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को सहायक डीन पदमा उपप्राध्यापक डा. बाबुराम दवाडी नियुक्त भएका छन् ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम तथा सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार खुला प्रतिस्पर्धाबाट छनोट समितिले हालै डा. दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो ।
रिक्त सहायक डीन पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रारम्भिक छनोटपछि अन्तर्वार्ता प्रक्रियामा समावेश भएका ८ जना उम्मेदवारले कार्ययोजना प्रस्तुति दिएका थिए । अन्तर्वार्ता चरणमा मूल्यांकनपछि कम्प्युटर इन्जिनियरिङ विभागमा कार्यरत डा. दवाडी उत्कृष्ट ठहरिँदै सहायक डीन पदमा नियुक्त भएका हुन् ।
को हुन् डा. दवाडी ?
डा. बाबुराम दवाडी सूचना प्रविधि तथा कम्प्युटर इन्जिनियरिङ क्षेत्रका विज्ञ हुन् । उनले सन् २००३ मा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) बाट कम्प्युटर इन्जिनियरिङमा स्नातक र सन् २००८ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर र सन् २०२१ मा कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका हुन् । उनको पीएचडी अध्ययन नर्वेको एनटीएनयू विश्वविद्यालयको छात्रवृत्तिमा सम्पन्न भएको थियो ।
डा. दवाडीले २०१३ मा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) समेत गरेका छन् । उनले २००९ देखि २०१२ सम्म नेपाल दूरसञ्चार प्राधिकरणमा सहायक निर्देशकको रूपमा कार्य गरे । त्यसपछि २०१२ देखि पुल्चोक क्याम्पसको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागमा पूर्णकालीन प्राध्यापकका रूपमा अध्यापन गरिरहेका छन् । उनले स्नातक, स्नातकोत्तर र पीएचडी तहका विद्यार्थीलाई कम्प्युटर साइन्स तथा इन्जिनियरिङका विभिन्न विषयहरू अध्यापन गर्दै आएका छन् ।
डा. दवाडीले विश्व बैंक, ओएमसीएन नेपाल जस्ता संस्थाहरूमा आईटी परामर्शदाता तथा नेपाल सरकारका विभिन्न सूचना तथा सञ्चार प्रविधि (आईसीटी) नीति निर्माणमा समेत योगदान पुर्याएका छन् । उनले जापानको केईओ विश्वविद्यालयमा तीन महिने अनुसन्धान पूरा गरिसकेका छन् । उनले २०१९/२०२० मा नर्वेको एनटीएनयू विश्वविद्यालय तथा स्पेनको टेक्निकल युनिभर्सिटी अफ भ्यालेन्सियामा करिब १० महिना अनुसन्धानमा समय व्यतीत गरेका थिए ।
उनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा प्रमुख प्रविधि अधिकृत, परीक्षा नियन्त्रण कार्यालयका उपप्रमुख, एमएस्सी कार्यक्रम संयोजक, अनुसन्धान तथा परामर्श इकाइका सदस्य लगायत विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । उनी हाल आईओई अन्तर्गतको सूचना प्रविधि अनुसन्धान तथा विकास प्रयोगशालाका सह-अध्यक्ष र नेटवर्क, साइबर सुरक्षा तथा डिजिटल फोरेन्सिक विभागका निर्देशकका रूपमा कार्यरत छन् ।
उनको अनुसन्धान आईटी/आईसीटी, नेटवर्क, साइबर सुरक्षा तथा डिजिटल प्रविधि क्षेत्रमा केन्द्रित छ । उनले पीएचडी अध्ययनका क्रममा अमेरिकाको नेसनल साइन्स फाउन्डेसनबाट अनुसन्धान प्रकाशनका लागि आर्थिक सहायता प्राप्त गरेका थिए ।