काठमाडौं । अब गुगल प्ले स्टोर बाहिरबाट पनि टिकटकको एन्ड्रोइड एप डाउनलोड गर्न सकिने भएको छ । अमेरिकामा गुगल प्ले स्टोर र एप्पल स्टोरमा टिकटक एप पुनः उपलब्ध नभएपछि कम्पनीले आफ्नो वेबसाइटबाट नै एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको हो ।
टिकटकले शनिबारदेखि वेबसाइटबाट एप डाउनलोड गर्न सकिने सुविधा ल्याएको हो । यससँगै अब खासगरी अमेरिकामा प्रयोगकर्तालाई टिकटक एप डाउनलोड वा अपडेट गर्न सहज भएको छ । टिकटकको वेबसाटबाटै एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यसअघि अमेरिकामा केही समयका लागि टिकटक प्रतिबन्ध हुँदा गुगल प्ले स्टोर र एप्पल स्टोरबाट पनि हटाइएको थियो । केही समयमा नै टिकटक माथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटेपनि एप स्टोरहरूमा भने हालसम्म उपलब्ध गराइएको छैन । जस कारण प्रयोगकर्ता समस्यामा परेका थिए ।
अब टिकटकको वेबसाइटबाट टिकटक एप र र स्लो इन्टरनेट कनेक्सन भएका स्थानका लागि बनाइएको टिकटक लाइट एप डाउनलोड गर्न सकिन्छ । वेबसाइटबाट एप डाउनलोड गरिसकेपछि फाइल ओपन गरेर इन्स्टल वा अपडेटको विकल्प रोज्न सकिन्छ । यसका लागि डिभाइसलाई भने अनुमति दिनुपर्ने हुनसक्छ ।
एप्पल र गुगलले आफ्ना एप स्टोरहरूमा एप राख्दा आफूले निर्धारण गरेका निश्चित नियमहरू पालना गर्नुपर्ने सर्त राखेका हुन्छन् । तर टिकटकले आफ्नै प्लेटफर्मबाट डाउनलोड गराउँदा भने यस्ता नियम पालना गर्न पर्दैन । टिकटकको 'हेल्प पेज'ले आफ्नो एप सुरक्षित रहेको दाबी गरेको छ ।