close

१९ घण्टामै युट्युबको ट्रेन्डिङ १ मा पर्‍यो बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

टेकपाना टेकपाना

माघ २९, २०८१ १२:३०

१९ घण्टामै युट्युबको ट्रेन्डिङ १ मा पर्‍यो बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

काठमाडौं । र्‍यापर एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ गीत ‘नेपाल हाँसेको’ रिलिज भएको १९ घण्टामै युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । सोमबार बेलुकी ५ बजेतिर सार्वजनिक भएको चलचित्र ‘लाज शरणम्‌’को उक्त गीत नेपालमा ट्रेन्डिङ फर म्युजिक विधामा शीर्ष स्थानमा परेको हो ।

यो गीतले अर्को चलचित्र रेशम फिलिलीको ‘फेरि जालमा’ गीतलाई पछि पारेको छ । यो समाचार तयार पार्दासम्म युट्युबमा बालेनको गीतले करिब आठ लाख ४२ हजार बढी भ्युज पाएको छ,  जसमा एक लाख ४० हजार लाइक र साढे ११ हजार बढी कमेन्ट आएका छन् । 

गीत सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालका विभिन्न माध्यममा शेयर गर्ने क्रम बढेको छ । केही प्रयोगकर्ताले टिकटकमा छोटा क्लिप बनाएका छन् ।  

१४ फागुनमा रिलिज हुने यस चलचित्रमा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियना आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गीत सबैभन्दा कम समयमा युट्युब ट्रेन्डिङमा परेको दाबी गरेका छन् । यद्यपि यसलाई पुष्टि गर्न सकिएको छैन ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८१ १२:४०