काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामलाई नयाँ पुस्ताको लागि हानिकारक भन्दै यसले युवालाई भड्काइरहेको टिप्पणी गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार राजधानीमा आयोजना गरेको सुरक्षित इन्टरनेट दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा सामाजिक सञ्जालको प्रयोग र नियमनको अभावले अराजकता फैलिरहेको भनाइ राखे ।
“समाजमा नयाँ पुस्ता इन्स्टाग्राममा बढी सक्रिय छ । यस प्लेटफर्मले त्यसलाई भड्काइरहेको छ,” मन्त्री गुरुङले भने । उनले युवाहरूसँग जडान गर्नका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
सामाजिक सञ्जाल नियमनका लागि सामाजिक सञ्जाल विधेयक आएको चर्चा गर्दै उनले भने, ‘समाजमा अनुशासन र जिम्मेवारीका साथ प्रयोग गर्नका लागि सामाजिक सञ्जालको नियमन जरुरी छ । अहिले सामाजिक सञ्जाल नियमन नहुँदा अराजकता मौलाइरहेको छ ।”