close

अमेजनमा कार नम्बर प्लेट बिक्री गर्न रोक

टेकपाना टेकपाना

फागुन १, २०८१ १७:३५

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । विश्वको चर्चित ईकमर्स कम्पनी अमेजनले आफ्नो प्लेटफर्ममा कार नम्बर प्लेट बिक्री गर्न प्रतिबन्ध लगाएको छ । कम्पनीले आफ्नो प्लेटफर्ममार्फत कारका नम्बर प्लेटहरूको अवैध आपूर्ति भइरहेको समाचार सार्वजनिक भएपछि यो कदम चालेको हो ।

बेलायतमा कम्पनीहरूले ड्राइभिङ लाइसेन्सका साथै अन्य कागजात भौतिक रूपमा नहेरी नम्बर प्लेट दिन नमिल्ने कानुनी व्यवस्था छ । तर, अमेजनमार्फत अनलाइनमा कागजात नहेरिकन नै नम्बर प्लेटहरू बिक्री भइरहेको पाइएको थियो ।

बीबीसीले अमेजनमा रहेका सात कम्पनीहरूले ग्राहकको कागजात जाँच नगरी र तिनीहरूको कानुनी अधिकार निर्धारण नगरी नम्बर प्लेट बेचिरहेको खुलासा गरेको थियो । सोसँगै ती कम्पनीका उत्पादनहरू हटाइएको र उपहारका लागि प्रयोग गरिने प्लेटबाहेक अन्य सबै नम्बर प्लेटहरूको बिक्री रोक्न लागिएको अमेजनले जनाएको छ ।

अमेजनमा तेस्रो पक्षका विक्रेताहरूले बेचिरहेका नम्बर प्लेटहरू तत्कालै हटाउन नसकिने जनाइएको छ । ती नम्बर प्लेट बिक्री प्रक्रिया बन्द गर्न केही समय लाग्ने बताइएको छ ।

अनलाइनमार्फत अवैध रूपमा गाडीका लागि नम्बर प्लेट अर्थात् भेहिकल रजिस्ट्रेसन प्लेट्सहरू सजिलै उपलब्ध गराइँदै आएको थियो । यस्ता नम्बर प्लेट अपराधीहरूले क्लोन गर्न प्रयोग गर्ने गरेको भन्दै चेतावनी दिइएको थियो ।

नम्बर प्लेट क्लोनिङ भन्नाले पहिलेदेखि नै कारमा प्रयोग भइसकेका नम्बर प्लेटको नक्कली नम्बर बनाएर उस्तै देखिने गाडी राख्नु हो । त्यसपछि अपराधीले अपराध गरेर सक्कली गाडीको मालिकलाई दोषी जस्तो देखाएर फसाउने काम हुन्छ ।

बेलायतमा वर्षेनी हजारौं सङ्ख्यामा नम्बर प्लेट क्लोनिङका घटना हुने गरेका छन् । सन् २०२१ देखि २०२३ सम्ममा यस्ता ९० हजारभन्दा बढी घटनामा जरिवाना तोक्दै सूचना जारी भएका थिए । अमेजनको यो कदमले नम्बर प्लेटको दुरुपयोगलाई केही हदसम्म रोक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८१ १८:१२