close

‘भ्यालेन्टाइन डे’ मा भूकम्प गएको भन्दै ब्राजिलमा गुगलले पठायो गलत सूचना !

टेकपाना टेकपाना

फागुन ३, २०८१ १६:५७

‘भ्यालेन्टाइन डे’ मा भूकम्प गएको भन्दै ब्राजिलमा गुगलले पठायो गलत सूचना !

काठमाडौं । गुगलले ब्राजिलमा एन्ड्रोइडमार्फत भूकम्प गएको पत्ता लगाई सचेत गराउने फिचर अस्थायी रूपमा बन्द गरेको छ । ब्राजिलका साओ पाउलो र रियो दि जेनेरियो सहरमा रहेका धेरै स्मार्टफोन प्रयोगकर्ताले शुक्रबार बिहान भूकम्पसम्बन्धी गलत आपतकालीन अलर्ट प्राप्त गरेपछि गुगलले यो सेवा बन्द गरेको हो ।

भ्यालेन्टाइन्स डेको दिन बिहान २ बजेतिर ५.५ म्याग्निच्युडको भूकम्प गएको भन्दै त्यहाँका प्रयोगकर्ताको एन्ड्रोइड स्मार्टफोनमा अलर्ट आएको थियो । उक्त अलर्टमा ब्राजिलको उबाटुबा र बाइसाडा सान्टिस्ता क्षेत्रमा भूकम्प गएको उल्लेख थियो । तर साओ पाउलोको नागरिक सुरक्षा निकायले कुनै पनि अलर्ट जारी नगरेको र राज्यमा भूकम्प गएको कुनै रेकर्ड नभएको बताएको छ ।

गुगलले सन् २०२० मा एन्ड्रोइड डिभाइसमा रहेको एक्सेलेरोमिटरलाई सिस्मोमिटरको रूपमा प्रयोग गरी भूकम्प पत्ता लगाउने सिस्टम क्यालिफोर्नियाबाट सुरु गरेको थियो । त्यसपछि यो फिचर क्रमशः अन्य देशमा पनि विस्तार गरिएको थियो ।

गुगलका प्रवक्ता एड फर्नान्डेजले द भर्जलाई ईमेलमा भनेका छन्, “एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम एउटा पूरक सेवा हो । यसले एन्ड्रोइड फोन प्रयोग गरेर तुरुन्तै भूकम्पको कम्पन अनुमान गर्छ र प्रयोगकर्तालाई प्रारम्भिक चेतावनी दिन्छ । यो कुनै पनि आधिकारिक वा अन्य सार्वजनिक चेतावनी प्रणालीको विकल्पको रूपमा डिजाइन गरिएको होइन । १४ फेब्रुअरीमा हाम्रो प्रणालीले साओ पाउलोको तट नजिकका डिभाइसबाट सङ्केत पत्ता लगायो । र, यस क्षेत्रका प्रयोगकर्ताहरूलाई भूकम्पको अलर्ट पठायो ।”

उनले थप भने, “हामीले तुरुन्तै ब्राजिलमा अलर्ट प्रणाली बन्द गर्‍यौं र अहिले के भयो भनेर अनुसन्धान गरिरहेका छौं । असुविधाको लागि हामी हाम्रा प्रयोगकर्ताहरूसँग क्षमा चाहन्छौं र हाम्रा डिभाइस तथा सिस्टम सुधार गर्न प्रतिबद्ध छौं ।” 

पछिल्लो अध्यावधिक: फागुन ३, २०८१ १७:९