close

युट्युबर बियरबाइसेप्सले भने- ‘म र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ’

टेकपाना टेकपाना

फागुन ४, २०८१ ११:५९

युट्युबर बियरबाइसेप्सले भने- ‘म र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ’

काठमाडौं । युट्युबर रणवीर अल्लाहबादिया ऊर्फ बियरबाइसेप्सले आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राम र एक्समा पोस्ट राख्दै उनले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको जानकारी दिएका हुन् । 

‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा गरेको टिप्पणीलाई लिएर विवाद भएपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । रणवीरले इन्स्टाग्राममा लेखेका छन्, “म र मेरो टोली प्रहरी र अन्य सम्बन्धित निकायलाई सहयोग गरिरहेका छौं । म कानुनको पालना गर्नेछु र सबै निकायमा उपस्थित हुनेछु । अभिभावकबारे गरेको टिप्पणी असंवेदनशील र अपमानजनक थियो । म यसको लागि माफी माग्छु ।”

रणवीरका अनुसार मानिसहरू नक्कली बिरामीका रूपमा उनकी आमाको क्लिनिकमा गएर आक्रमणको प्रयास गरिरहेका छन् । उनी लेख्छन्, “मलाई मार्ने र मेरो परिवारलाई हानी पुर्‍याउने धम्की आइरहेको छ । मानिसहरू बिरामी बनेर मेरी आमाको क्लिनिकमा पसेका छन् । म डराएको महसुस गरिरहेको छु र मलाई के गर्ने भन्ने केही थाहा छैन ।”

उनले आफूलाई र आफ्नो परिवारलाई मार्ने धम्की आइरहेकोले डराएको र त्यसैका लागि फोन अफ गरेर राखेको जनाएका छन् । फोन अफ गर्दा सम्पर्कविहीन वा फरार भएको भन्ने आरोप लाग्ने देखेपछि उनले आफू पूर्ण रूपमा कानुनी निकायलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।

यसअघि मुम्बई प्रहरीले रणवीरको फोन बन्द भएको कारण सम्पर्क गर्न नसकेको बताएको थियो ।

प्रहरीले कमेडियन समय रैनालाई १० मार्चसम्ममा उपस्थित हुन भनेको छ । रणवीरले समयको युट्युब कार्यक्रममा अभिभावक र यौनको बारेमा गरेको टिप्पणीलाई लिएर धेरैले गुनासो गरेका थिए ।

रणवीरले प्रहरीलाई आफ्नो निवासमा आई बयान लिन आग्रह गरेका थिए । तर शुक्रबार प्रहरी उनको घरमा जाँदा घर बन्द थियो । प्रहरीले भाजपा कार्यकर्ताको उजुरीको आधारमा अपूर्व मुखिया, आशिष चञ्चलानी र रणवीरका म्यानेजरसहित आठ जनाको बयान लिएको छ ।

यद्यपि प्रहरीले यस सम्बन्धमा कुनै एफआईआर दर्ता नगरेको भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले जनाएको छ । महाराष्ट्र साइबरले कम्तीमा ५० जनालाई बयानका लागि बोलाएको छ जसमा कार्यक्रममा सहभागी भएकाहरू पनि उपस्थित छन् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ १२:२७