close

ओप्पोको अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?

टेकपाना टेकपाना

फागुन ९, २०८१ १३:३४

ओप्पोको अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?

काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले विश्वकै सबैभन्दा पातलो फोल्डेबल फोन ‘फाइन्ड एन फाइभ’ (Oppo Find N5) सार्वजनिक गरेको छ । बन्द अवस्थामा यो फोनको मोटाइ ८.९३ एमएम मात्रै छ, जुन एउटा सामान्य यूएसबी सी पोर्टको साइजभन्दा पनि पातलो हो । यसको तौल २२९ ग्राम छ ।हेडफोन ज्याकभन्दा पनि पातलो भएकाले यसमा हेडफोन ज्याक छैन ।

फोनको बाहिरी स्क्रिन ६.६२ इन्चको छ भने भित्र ८.२ इन्चको डिस्प्ले छ । फोन खोल्दा फाइन्ड एन फाइभको मोटाइ ४.२१ मिलिमिटर हुन्छ, जुन ह्वावे मेट एक्सटी अल्टिमेट ट्राई-फोल्ड फोनभन्दा अलिकति बाक्लो हो । त्यसैले 'विश्वकै सबैभन्दा पातलो' दाबी गरिएको यो फोन बन्द हुँदाको लागि मात्रै हो । ​

फोनको पछाडि ट्रिपल क्यामेरा सिस्टम छ, जसमा ओआईएससहितको ५० मेगापिक्सेलको मुख्य सेन्सर छ । साथमा थ्री एक्स अप्टिकल जुम र ओआईएससहितको ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो सेन्सर र ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा छ । 

फोनले आईपीएक्स सिक्स, एक्स एट र एक्स नाइन रेटिङ पाएको छ । यसको अर्थ यो फोन पानी, धुलो, मैलो सबैबाट प्रतिरोधी छ । यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीले फोनमा ५६०० एमएएचको ब्याट्री दिएको छ । यो फोनको मूल्य १८६७ डलर तोकिएको छ । नेपाली बजारमा यो फोन कहिले उपलब्ध हुन्छ भनेर कम्पनीले स्पष्ट जानकारी दिइसकेको छैन । 

अहिले स्मार्टफोन बजार पातलोपनमा केन्द्रित छ । सामसङले हालै आफ्नो सुपर-थिन ग्यालेक्सी एस२५ एजको टिजर सार्वजनिक गरेको छ । एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १७ एयर लन्च गर्ने योजना बनाएको खबर छ । आईफोन १७ एयर एप्पलको अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने अनुमान गरिएको छ । एप्पलका विश्लेषक मिङ-ची कुओका अनुसार आइफोन १७ एयर ५.५ मिलिमिटर पातलो हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८१ १५:४९