close

आईफोन १७ विभिन्न डिजाइनमा आउने सङ्केत, अब फिचर र बजेटसँगै डिजाइन पनि विकल्प बन्ने

टेकपाना टेकपाना

फागुन १२, २०८१ १७:२८

आईफोन १७ विभिन्न डिजाइनमा आउने सङ्केत, अब फिचर र बजेटसँगै डिजाइन पनि विकल्प बन्ने

काठमाडौं । एप्पलले आईफोन १७ सिरिजमा मोडेल अनुसार फरक-फरक डिजाइन ल्याउने तयारी गरिरहेको छ । हालै सार्वजनिक भएको एक तस्विरले आईफोन १७, एयर, प्रो र प्रो म्याक्स मोडेलमा डिजाइनको भिन्नता स्पष्ट रूपमा देखिने सङ्केत दिएको हो ।

अहिले आईफोन १६ को बेस र प्रो मोडेलमा क्यामेराको सङ्ख्याका आधारमा सजिलै फरक छुट्याउन सकिन्छ । तर, आईफोन १७ मा भने बाहिरी डिजाइनबाटै सबै मोडेल छुट्याउन सकिने बताइएको छ ।

चर्चित ‘लिकर’ माजिन बुले सार्वजनिक गरेको तस्विर अनुसार आईफोन १७ का चार ओटै मोडेलको डिजाइन फरक फरक देखिन्छ । बेस मोडेलमा अहिलेको जस्तै क्यामेरा बम्प रहनेछ भने एयर मोडेलमा एउटा मात्र क्यामेरा भएको स्ट्रिप हुनेछ । त्यस्तै आईफोन १७ प्रो र प्रो म्याक्समा ठुलो क्यामेरा आइल्याण्ड हुनेछ ।

यसअघि घोषणा गरिएको आईफोन १६ ई लाई पनि समावेश गर्ने हो भने एप्पलले विभिन्न डिजाइनका फोन बजारमा ल्याउने देखिन्छ । यसले प्रयोगकर्तालाई डिजाइनकै आधारमा फोन रोज्ने विकल्प दिनेछ । यस अघिका मोडेलमा प्रयोगकर्ताले आवश्यक फिचर र आफ्नो बजेट अनुसार फोन छनोट गर्थे । अब भने डिजाइन हेरेर आफ्नो बजेट अनुसारको फोन खरिद गर्न सक्नेछन् ।

कतिपय प्रयोगकर्ताहरूका लागि यो विविधता आकर्षक हुन सक्छ । ठुलो क्यामेरा मन नपर्नेहरूले एउटा मात्र क्यामेरा भएको एयर मोडेल रोज्न सक्नेछन् । फरक फरक डिजाइन हुनुले एप्पलका डिजाइनर एउटा मात्र डिजाइनमा सहमत हुन नसकेको जस्तो देखाउँछ ।

बाहिरिएको आईफोन १७ सिरिजको डिजाइन

यद्यपि यी तस्विर आईफोन १७ को वास्तविक डिजाइन नहुन पनि सक्छन् । तर, पछिल्लो समय सार्वजनिक भएका ‘लिक’ हेर्दा यो नै आईफोन १७ को वास्तविक डिजाइन हुने बलियो आधार देखाउँछ ।

नयाँ फोनमा आल्मुनियम फ्रेम र ३ एनएम ए१९ चिपसेट हुने अनुमान गरिएको छ । प्रो मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा हुन सक्ने बताइएको छ । बेस र एयर मोडलमा पहिलो पटक कम्पनीले १२० हर्जको डिस्प्ले उपलब्ध गराउने सम्भावना उच्च रहेको छ । त्यस्तै एप्पलले प्रो मोडेलमा रिभर्स वायरलेस चार्जिङको समेत परीक्षण गरिरहेको बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०८१ १७:२८