काठमाडौं । एप्पलले आईफोनको डिक्टेसन (बोलेको भरमा लेख्ने) फिचरमा एउटा अनौठो समस्या देखिएको स्वीकार गरेको छ । यो फिचर प्रयोग गरी कसैले ‘रेसिस्ट’ (Racist) अर्थात् जातीवादी भन्ने शब्द बोल्दा क्षणिक रूपमा ‘ट्रम्प’ शब्द देखा पर्न थालेको थियो ।
द भर्जका अनुसार अहिले यो समस्या देखिएको छैन । तर, टिकटक र अन्य सामाजिक सञ्जालमा आईफोनको यो समस्या भाइरल भएपछि यस विषयले मङ्गलबारदेखि धेरैको ध्यान खिचेको छ ।
कम्पनीले द न्यु योर्क टाइम्स र फक्स न्युजलाई एक विज्ञप्ति जारी गर्दै यस समस्याको पुष्टि गरेको छ । फक्स न्युजमा नाम नखुलाइएका प्रवक्ताले भनेका छन्, “डिक्टेसनलाई पावर दिने स्पिच रिकग्निसन मोडेलमा समस्या भएको जानकारी आएको छ । र, हामी यसलाई जति सक्दो चाँडो समाधान गर्दैछौँ ।”
यस समस्याको जड ‘ट्रम्प’ र ‘रेसिस्ट’ को उच्चारण मिल्दोजुल्दो हुनु रहेको बताइएको छ । कम्पनीले फक्स न्युजलाई बताए अनुसार ‘आर’ अक्षरबाट सुरु हुने अन्य शब्दमा पनि कहिलेकाहीँ यस्तो समस्या देखिने गरेको छ । तर एप्पलको सिरि (Siri) टिममा काम गरिसकेका जोन बुर्कीले द टाइम्सलाई ट्रम्पको नाम देखा पर्नु ‘गम्भीर मजाक’ जस्तो लागेको र यो जानाजानी कसैले गरेको हुन सक्ने बताएका छन् ।
एप्पलले आगामी चार वर्षमा संयुक्त राज्य अमेरिकामा ५ खर्ब डलरभन्दा बढी लगानी गर्ने योजना घोषणा गरेको एक दिनपछि आईफोनमा यो समस्या देखिएको हो । कम्पनीले राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको करको सम्भावित असरलाई कम गर्न खोजीरहेको छ । चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर पहिले नै लागु भइसकेको छ भने चिप्समा २५ प्रतिशत कर लगाउने प्रयास भइरहेको जनाइएको छ ।