close

एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने

टेकपाना टेकपाना

फागुन २३, २०८१ १७:३०

एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने

काठमाडौं । एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा नयाँ संशोधन गर्दै एटीएम कारोबारसम्बन्धी ग्राहक सुविधा सुधार गर्ने निर्देशन दिएको हो । 

“एटीएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी वा सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने छ । यस प्रकारको विवरण नियमित रुपमा अद्यावधिक गरी सो को अभिलेख समेत राख्नुपर्ने छ,” निर्देशनमा भनिएको छ । 

साथै एटीएममा कुनै समस्या आए तत्कालै एटीएम सञ्चालन गर्ने संस्थामा सूचना पुग्नुपर्ने व्यवस्था गरिएको छ । “कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएम मा पर्याप्त नगद नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पत्र भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्नुपर्ने छ । साथै, सोको सूचना आवश्यकता अनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्ने छ,”  राष्ट्र बैंकले भनेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८१ १७:३०