close

एक्स दिनमै चार पटक डाउन, एलन मस्कले देखाए युक्रेनतिर औंला !

टेकपाना टेकपाना

फागुन २७, २०८१ १६:७

एक्स दिनमै चार पटक डाउन, एलन मस्कले देखाए युक्रेनतिर औंला !

काठमाडौं । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) सोमबार पटकपटक डाउन भयो । धेरै प्रयोगकर्ताले एप र डेस्कटपमा फिड रिफ्रेस गर्दा लोडिङ आइकन मात्र देखेको गुनासो गरेका छन् ।

वेबसाइट आउटेज सम्बन्धी जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरले एक्समा देखिएको प्राविधिक समस्याबारे ४० हजारभन्दा बढी रिपोर्ट दर्ता भएको जानकारी दिएको छ ।

डाउनडिटेक्टरको तथ्यांकअनुसार ४८ प्रतिशत प्रयोगकर्ताले एक्सको वेबसाइट खोल्न नसकेको, ४३ प्रतिशत प्रयोगकर्ताले मोबाइल एपमा समस्या देखिएको र नौ प्रतिशत प्रयोगकर्ताले सर्भर कनेक्सनमा कठिनाइ आएको रिपोर्ट गरेका छन् ।

यो समस्या सोमबार दिनभर विभिन्न समयमा देखा परेको थियो । नेपालका एक्स प्रयोगकर्ताले पनि नयाँ पोस्ट लोड हुन नसकेको गुनासो गरेका थिए ।

यसैबीच एक्सका मालिक एलन मस्कले भने यो समस्या ‘युक्रेन क्षेत्र’बाट सुरु भएको ‘ठुलो साइबर आक्रमण’को कारण भएको दाबी गरेका छन् । तर उनले यसको लागि कुनै प्रमाण वा सरकारी संलग्नता भने उल्लेख गरेका छैनन् । 

"ठ्याक्कै के भयो भन्ने हामीलाई निश्चित छैन, तर युक्रेन क्षेत्रबाट आएको (इन्टरनेट प्रोटोकल) एड्रेस प्रयोग गरेर एक्स प्रणालीलाई डाउन गर्ने ठूलो साइबर आक्रमण भएको छ," मस्कले फक्स बिजनेस च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन् । उनले यसअघि एक्समा पोस्ट गरेर ‘एउटा ठुलो संगठित समूह वा देश संलग्न छ’ भनेका थिए ।

नेटब्लक्सका अल्प टोकरले बीबीसीसँग कुरा गर्दै डिनायल अफ सर्भिस (डीडस) आक्रमणका कारण एक्स डाउन भएको हुनसक्ने बताएका छन् । डीडस आक्रमणले विशेषगरी वेबसाइटलाई इन्टरनेट ट्राफिकले अत्यधिक बोझ लगाएर अफलाइन पार्ने प्रयास गर्छ । तर यसबारे एक्सले आधिकारिक जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ १६:२५